बालुवाटार छिरेपछि महन्थलाई क-कसले छोडे
पार्टी टुक्र्याएर सरकारमा गएको जसपाको महन्थ ठाकुर खेमालाई सरकार र पार्टी दुबैतिर हात लाग्यो शून्यको अवस्था बनेको छ । एकातिर पार्टीको आधिकारिकता गुम्ने अवस्था,अर्कोतिर सर्वोच्च अदालतले ११ मन्त्रीको जागिर खाइदिएसङ्गै महन्थ खेमालाई ठूलो धक्का लागेको टिप्पणी हुन थालेको छ ।
महन्थहरु ओली नेतृत्वको सरकारमा गएकै कारण पार्टीमा बढेको विवाद अहिले निर्वाचन आयोग पुगेको छ । आधिकारिकताका लागि उपेन्द्र यादव पक्षले आयोगमा बहुमत सदस्यको हस्ताक्षर बुझाइसकेकाले महन्थ खेमालाई पार्टीबाट बाहिरिनुपर्ने अवस्था आइलागेको हो ।
निर्वाचन आयोगले केही समयभित्रै आधिकारिकता विवाद टुंग्याउने गरी प्रक्रिया अघि बढाएको छ । उपेन्द्र पक्षले आधिकारिकताको मागदाबी गरेको पर्सिपल्टै महन्थ खेमालाई १५ दिने सूचना दिएपनि अहिलेसम्म जवाफ नआएको आयोगले बताएको छ । यसअघि पटक-पटक अनिर्णित बनेको आरोप खेपिरहेको निर्वाचन आयोग यसपटक भने यथासक्य छिटो विवाद निरुपण गर्ने दिशामा अघि बढेको बताइन्छ । तोकिएको समयमा महन्थहरुको जवाफ नआए कानूनअनुसार नै अघि बढ्ने उसको तयारी छ ।
‘जसपाको कुरा क्लियर नै छ । ३१ जनाको हस्ताक्षर भनेको बहुमत हो । निर्णय नहुँदासम्म बोल्न मिलेन तर, आधिकारिकता उपेन्द्र पक्षले नै पाउने सम्भावना देखिएको छ । त्यस्तो अवस्थामा महन्थ पक्षले नयाँ दल दर्ता गर्नुपर्छ’,आयोग स्रोतले भन्यो ।
स्रोतका अनुसार महन्थ खेमाबाट सरकारमा गएकाहरु पनि उपेन्द्रतिर फर्कदैछन् । सरकारमा जानुअघि केन्द्रीय कार्यकारिणी समितिका २३ जनाले साथ दिएकोमा अहिले घटेर महन्थहरुसँग जम्मा २० जना छन् ।
विशेष स्रोतका अनुसार अनिल झा, राजकिशोर यादव र अर्का एक जना पनि भित्री रुपले उपेन्द्रतिरै छन् । तीनै जना अस्ति अदालतको आदेश आउनु अघिसम्म मन्त्री थिए । झालाई महन्थ खेमाले मन्त्रीका लागि सिफारिस गरेको थियो भने यादवलाई प्रधानमन्त्री केपी ओलीले आफ्नै तजबिजमा मन्त्री बनाउनुभएको हो ।
टिप्पणीहरू