मनाङ जाने बाटो १ महिनादेखि बन्द,पाल्पा,बझाङ र मकवानपुर पनि अवरुद्ध

मनाङ जाने बाटो १ महिनादेखि बन्द,पाल्पा,बझाङ र मकवानपुर पनि अवरुद्ध

पहिरोको कारण झण्डै एक महिनादेखि बन्द भएको बेसीशहरदेखि मनाङ जाने बाटो अझै खुलेको छैन । मनाङकी सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले ३० देखि ४० प्रतिशत बाटो पूरै बिग्रेकाले बाटो कहिलेदेखि सुचारु हुन्छ भन्न नसकिने बताउनुभएको छ ।

चालिसेले मनाङका आठ वटा पुलमा पहिरोले क्षति पुर्याएको र अहिले आवत जावत गर्ने सबैजसो मार्ग बन्द भएको जानकारी दिनुभएको छ । अहिले मनाङ सदरमुकाम चामेबाट लमजुङ जाने सडक पनि पहिरो र अविरल वर्षाका कारण बन्द भएको छ ।यस्तै पहिरोका कारण अवरुद्ध हेटौडाबाट फर्पिङ,दक्षिणकाली हुँदै काठमाडौं जाने सडक बिहान ९ बजेबाट खुलेको छ । सडक खुलेपनि विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले वर्षायाममा सकेसम्म उक्त मार्ग प्रयोग नगर्न मकवानपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले आग्रह गर्नुभएको छ ।

उता बझाङमा पहिरोको कारण अवरुद्व सडक खुलिसकेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभएको छ । केही दिनअघिसम्म बझाङ–खोड्पे सडक पहिरोका कारण बन्द थियो ।

पहिरोका कारण बिहान सबेरैदेखि बन्द भएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड बिहान ११ बजेदेखि एकतर्फी खुलाइएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभएको छ ।

टिप्पणीहरू