बाँच्नु नै ठूलो कुरा रहेछ अनेक विपत्तिमा

बाँच्नु नै ठूलो कुरा रहेछ अनेक विपत्तिमा

-वैकुण्ठ ढकाल

२८ वर्षअघि २०५० साल साउनमा मुसलधारे वर्षा भयो । आँगनभन्दा एक कान्लो तल नै बाढी पस्यो । केही दिनदेखि परिरहेको झरी रोकिने कुनै सम्भावना थिएन । घरका सबै जना बाढी हेर्न भनेर आँगनको डिलमै बस्नुभयो । त्यो बालमस्तिष्कमा के प¥यो कुन्नि ? बाँच्नुपर्छ भनेर म बहिनीको हात समाती पाखाघरतिर लागेँ । आफ्नै ज्यानको मायाले होला कि बहिनीको मायाले हो खोलाबाट टाढा डाँडातिर उकालिन मन लाग्यो । छोरीछोरी कहाँ हराए भनेर हल्लाखल्ला मच्चिएछ । केही घण्टा डाँडातिर हराएपछि फेरि घरतिर आयौं । बाढीबाट बच्न भनेर डाँडातिर उक्लिएका हामीलाई त्यतिखेर खै के ले बोलायो ? घरको मायाले पक्कै हैन, भोकले पो हो कि ! घर पुगेपछि बा–आमा पनि खुशी । कहाँ गएको भन्ने प्रश्नमा बालसुलभ तरिकाले जवाफ दिएँ –‘बाँच्न भनेर डाँडातिर ।’ आमापछि बाले प्रश्न गर्नुभयो– ‘पहिरो आएर पुरेको भए ?’ बाढीबाट बच्न भनेर हिँडेको मान्छेलाई पहिरो आउँछ भन्ने कुराको कुनै ज्ञान भएन । त्यो बालमस्तिष्कमा यस्तो ठूला कुरा कहाँबाट आउनु ! ज्यान जोगाउन एक बहिनीलाई डोहो¥याएर हिँडेको मलाई अरु बहिनीहरूको याद किन लागेन ! साथी बराबरको दाइको माया किन लागेन ?

बाढीले गर्ने विध्वंश त्यही बेला देखेको हो । पहिरोको पीडा पनि व्यहोरेकै हो । ठूलोबेसी फाँटको खेत कहाँ छ भनेर पत्ता लगाउनै सकिएन । वारका पार बगरै बगर, जताततै । केही दिनमा पानी रोकियो । खोला घट्यो, अनि आमा वस्तुभाउलाई घाँस काट्न भनेर माथि बारी जानुभयो । फर्केर आउँदा बडो दुःखको खबर ल्याउनुभयो । अर्थात् बारी पनि पहिरोले सिनित्तै निलेछ । त्यही वर्षदेखि अन्न पनि बेसा’को खानुप¥यो ।

अहिले पनि हरेक वर्षा याममा त्यही घटना याद आउँछ । यहाँ काठमाडौंमा आफू सुरक्षित भए पनि घरतिर केही भइहाल्यो कि भन्ने हुन्छ । गत वर्ष पनि निरन्तर पानी प¥यो । बिजुली बन्द भएपछि नेपाल टेलिकमको टावर चलेन, घरमा सम्पर्क भएन । त्यो तीन दिन निकै लामो भयो । घरपरिवारपछि ठूलोबेंसी खेतको माया लाग्छ, पोहोर मात्रै बाढी पसेको खेत झण्डै एक लाख खर्च गरेर बनाइएको थियो । यो वर्ष बाढीले बढार्छ कि बच्छ भन्ने लागिरहन्छ ।

यो वर्ष गत सालको भन्दा धेरै वर्षा हुने भनेर मौसमविद्ले भनिसकेका छन् । अहिले त मौसमको पूर्वानुमान गर्न सक्ने प्रविधिको बिकास भएको छ । मौसमको पूर्वानुमान मिल्न थालेको छ । सूचना प्रविधिको बिकास भएको छ । यसकै कारण हो – असार १ गते सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठूलो बाढी आएर भौतिक संरचना भत्काए पनि ठूलो मानवीय क्षति भएन । मानवीय क्षति ठूलो नभए पनि धेरैको बाँच्ने आधार खोसिएका छन् । बस्ने बास उजाडिएका छन् । अझै पनि बाढीले जग खोतलेर कमजोर बनाएका घर ढलिरहेकै छन् । यसलाई ठूलो क्षतिको संकेत हो भनिएको छ । अझै के–के हुने हो यसै भन्न सकिन्न ।

टिप्पणीहरू