काङ्ग्रेसलाई अर्को महाभारत
चौधौँ महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगोमा नपुग्दा महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ । दुई पटकसम्म महाधिवेशनको मिति पछाडि धकेलेको काँग्रेस संवैधानिक बाध्यताका कारण निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यतामा छ ।
यसअघि फागुनमा हुने भनिएको महाधिवेशन कोरोना महामारीका कारण भदौमा सारिएको थियो । विशेष परिस्थितिमा ६ महिनासम्म सार्न सकिने संविधानको व्यवस्थाका कारण आगामी भदौ १६ देखि १९ गते महाधिवेशनको तोकिएको छ । तर, उक्त मितिमा महाधिवेशन सम्पन्न गर्न कार्यतालिकाअनुसार तल्ला तहको अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । क्रियाशील सदस्यता टुंग्याउनै महाभारत परेको कांग्रेसलाई वडादेखि प्रदेश तहसम्मका अधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने चुनौती बढेको छ ।
कार्यतालिका अनुसार असार २० गतेसम्म टुंग्याईसक्नुपर्ने क्रियाशिल सदस्यता छानविन अहिलेसम्म पूरा नभएकाले तल्ला तहका अधिवेशनहरु पछाडि सर्नसक्ने कांग्रेस नेताहरु बताउछन् ।
कांग्रेसमा क्रियाशील सदस्यतालाई महाधिवेशनको पिलर मानिन्छ । क्रियाशील सदस्यले नै महाधिवेशन प्रतिनिधि चुन्ने हुँदा कार्यतालिका अनुसार सदस्यता विवाद टुंगो नलाग्दा सबै तहका अधिवेशनहरु प्रभावित हुने देखिएको हो । क्रियाशील सदस्यता छानविन समितिका प्रवक्तासमेत रहेका युवा नेता प्रदिप पौडेलले तल्ला अधिवेशनहरु प्रभावित हुनसक्ने बताए ।
‘राष्ट्रिय महाधिवेशन तोकिएको समयमै गर्नुको विकल्प छैन तर, तल्लो तहका अधिवेशनहरु केही ढिलो हुनसक्छ। हामी सकभर कार्यतालिका प्रभावित नहुने गरि काम गरिरहेका छौं’, उनले भने।
केन्द्रमा क्रियाशील सदस्यताको डाटा ईन्ट्री गर्न ढिलो हुँदा छानबिन प्रक्रिया लम्बिएको पौडेलले बताए । असार मसान्तसम्ममा सदस्यता छानबिन टुङ्गाएर निर्वाचन समितिलाई बुझाउने गरि काम भैरहेको उनको भनाइ छ । हालसम्म ६३ जिल्लाका १ सय ७ निर्वाचन क्षेत्रमा क्रियाशील छानबिन भैसकेको र बाँकी जिल्लाको पनि छिट्टै टुंग्याउने पौडेलको विश्वास छ ।
५८ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता छानविन बाँकी रहँदा ८ लाख ५० हजार बढी सदस्य इन्ट्री भैसकेको उनले जानकारी दिए । जसमध्ये पुराना ४ लाख ५० हजार र नयाँ ४ लाख छन् । क्रियाशील विवादले महाधिवेशन कार्यतालिका प्रभावित हुँदा वडा, गाउँ/नगर, प्रदेश क्षत्रीय, जिल्ला र प्रदेशको महाधिवेशनको मिति पछि धकेलिनसक्ने पौडेलको भनाइ छ ।
टिप्पणीहरू