निर्णय ओली सरकारको, अपजस देउवा सरकारको थाप्लोमा
सरकारले हिजोदेखि लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको सूचना आज बाहिरिएको छ । आज यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचनाअनुसार सरकारले २८ प्रतिशतसम्म भाडा बढाएको छ । तर यो निर्णय यसअघिको ओली सरकारले नै गरे पनि भाडादर वृद्धिको सूचना सार्वजनिक हुँदा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ ।
यसबाट नयाँ सरकारको पहिलो कार्य नै सवारीसाधनको भाडा वृद्धिदर रहेको देखिन गएको हो । ओली सरकारले गरेको निर्णय ढिलो सार्वजनिक हुँदा दोष चाँही हिजो राती गठन भएको नयाँ सरकारलाई परेको बताइन्छ ।
यातायात व्यवस्था विभागकाअनुसार नयाँ भाडादर अनुसार यात्रुवाहक सवारीसाधनमा २८, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २० तथा तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २६ प्रतिशतसम्म भाडा बढाइएको छ ।
विगतमा सवारी साधनको भाडादर इन्धनको ३५ र अन्य सूचकको आधारमा ६५ प्रतिशतको आधारमा निर्धारण गर्ने गरिएको थियो । यसअघि २०७५ असोज ७ गते बजार हचुवाको भरमा१० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । आइतबार केपी शर्मा ओलीको नेतृत्वमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट भाडा वृद्धि गरेको हो ।
लामो समयदेखि वैज्ञानिक भाडादर लागू हुन नसकेको विभागका प्रवक्ता लोकनाथ भुसालले समेत बताउनुभएको छ ।
टिप्पणीहरू