चालिस वर्षपछि पानी झर्यो, देउरालीवासी दङ्ग

चालिस वर्षपछि पानी झर्यो, देउरालीवासी दङ्ग

-आशिका लम्साल

सुगम जिल्ला मानिएको मोरङ्गको उत्तरी क्षेत्रमा पर्ने केराबारी गाउँपालिका–३ स्थित विकट देउराली गाउँमा चालिस वर्षपछि खानेपानी पुग्दा स्थानीयवासी दङ्ग छन् ।

अरुको मुख ताकेर बस्नुपर्दा वाक्क भएका देउरालीवासीले आफ्नै पहलमा गाउँमा खानेपानी ल्याउन सफल भएपछि असारको चटारोवीच खेतीपाती छाडेर पानीको नाली र धारा व्यवस्थापन गर्न एकजुट भएका छन् ।

‘यतिबेला हामी गाउँलेमा खुशीको सीमा छैन । त्यसैले खेतबारीमा व्यस्त रहेका गाउँवासी हर्षित हुँदै ४० वर्षपछि बल्ल आएको खानेपानी व्यवस्थापन गर्न लागेका छौं,’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बुले भने ।

अध्यक्ष लिम्बुका अनुसार केराबारी गाउँपालिका ३,को कुवापानी आधारभूत विद्यालयदेखि उत्तर चुरेक्षेत्रसंगै जोडिएको झण्डै २५ घरपरिवार रहेको देउराली गाउँवासीले चालिस वर्षदेखि खानेपानी माग गर्दै आएका थिए । तर चालिस वर्षसम्म उनीहरूको माग पूरा भएको थिएन ।

चुनावका बेला गाउँमा आएर धेरै नेताले आफूले जितेमा घरघरमा धारा जोडिदिने आश्वासन दिने गर्दथे । तर चुनाव जितेपछि वाचा बिर्सन्थे । त्यसैले देउरालीवासी सँधै खानेपानीका लागि काकाकुलको अवस्था भोग्न बाध्य भए ।

नेताले केही गरेनन् अब आफनो लागि आफैँ गर्नुपर्छ भनेर देउरालीवासीले उपभोक्ता समिति निर्माण गरे । अनि पानीको स्रोत (मुहान) पहिचान गरेर दुई वर्षदेखि लगातार परिश्रम गरेपछि आफैँ गाउँमा पानी ल्याउन सफल भएका हुन् ।

आफनै बलबुतामा गाउँमा पानी ल्याउन सफल भएपछि खाना पकाउन,नुवाईधुवाई गर्न मात्र नभएर विद्यार्थीलाई समयमै विद्यालय पठाउन,पशुपालन गर्न र अन्य घरायसी कामकाजमा समेत सहज भएको देउरालीवासी बुद्धमाया लिम्बुले बताइन् ।

खानेपानी अभावमा देउरालीवासीले हिउँदमा गाउँदेखि घण्टौं टाढाबाट ओसारेको र वर्षायाम खाल्डोमा जमेको र आकाशे पानी संकलन गरेर समस्या टार्दै आएका थिए । तर अब खानेपानीको पाइप नै गाउँका घर घरमा आइपुगेपछि पिउने पानीको सहज आपूर्ति भएकाले उनीहरू पहिलेको हण्डरबाट मुक्त भएका छन् ।

गाउँमा खानेपानीको पाइप ल्याउन देउरालीवासीले २ वर्षदेखि निरन्तर श्रमदान गर्दै आएका थिए । उनीहरूले वस्तीदेखि झण्डै ५ किलोमिटर उत्तर बडहरे,छतिवन र गडमे खोलामा पानीको स्रोत पहिचान गरेर पाइप जडान गरी गाउँमा जरुवापानी ल्याएका हुन् ।

खानेपानीको सहज आपूर्ति भएपछि पर्यटकीय क्षेत्रको रुपमा चिनिएको देउराली गाउँमा पर्यटनको विकाससमेत फस्टाउने गाउँवासीले विश्वास लिएका छन् ।

देउरालीवासी आफैँले अथक मेहनत गरेर गाउँमा खानेपानी ल्याउन सफल भएपछि जनप्रतिनिधिहरू समेत मख्ख परेका छन् । उनीहरूले खानेपानीको दीगो व्यावस्थापनका लागि टयाँङ्की निर्माण र आवश्यक पाइप वितरणमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

टिप्पणीहरू