एमालेको १० औं बैठक जारी,कार्वाहीसहित ९ एजेण्डा

एमालेको १० औं बैठक जारी,कार्वाहीसहित ९ एजेण्डा

एमाले केन्द्रीय कमिटीको हिजोदेखि जारी १० औं केन्द्रीय कमिटीको बैठक आज अपरान्ह ४ बजेपछि पुनः बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिष्ठान भवनमा डाकिएको बैठकमा ९ वटा एजेण्डा राखिएको छ ।

अध्यक्षको सम्बोधन,कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन र त्यसको कार्यान्वयनदेखि पार्टीको आगामी भूमिकासम्म उल्लेख गरिएको एजेण्डाको तेस्रो बुँदामा अनुशासनहीन कार्यमा संलग्नहरुसँग स्पष्टिकरण मागिने लेखिएको छ । जुन हिजोको बैठकबाट २४ घण्टे म्याद दिएर सोध्ने निर्णय भएको थियो ।

बैठकले सर्वोच्च अदालतको फैसलाबारे पार्टीको आधिकारिक धारणा बनाउने र यसअघि आफ्नै नेतृत्वमा सञ्चालित सरकारको समेत समीक्षा गर्ने भनिएको छ । प्रदेशको पार्टी अवस्थाबारे जानकारी लिने र निर्वाचनको तयारी गर्ने समेत भनिएको छ ।

जबकि अध्यक्ष केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको यसअघिका दुई वटै निर्वाचन रोकिएका छन् । अब स्थानीय तहको निर्वाचन आगामी बैशाखमा र संघ तथा प्रदेशको २०७९ मंसीरमा मात्र हुने अवस्था बनेको छ ।बैठकले सदस्यता नवीकरण, विधान महाधिवेशन र अधिवेशन, जनसंगठन व्यवस्थापनबारे पनि आवश्यक निर्णय गर्ने बुझिएको छ । बैठकमा पदाधिकारी र स्थायी समितिका सदस्यसहित १ सय जनाभन्दा बढीको उपस्थिति रहेको छ ।

जसमा ईश्वर पोखरेल,सुवास नेम्वाङ,विष्णु पौडेल,रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी प्रदीप ज्ञवाली,लेखराज भट्ट, पृथ्वीसुब्बा गुरुङ,किरण गुरुङ, मणि थापा,विष्णु रिमाल हुनुहुन्छ ।

त्यसैगरी,बैठकमा महेश बस्नेत, केशव बडाल,छबिलाल विश्वकर्मा, शेरबहादुर तामाङ,सत्यनारायण मण्डल,बैजनाथ चौधरी,भानुभक्त ढकाल,शिवमाया तुम्बाहाम्फे, कैलाश ढुङ्गेल,शेरधन राई,दावा लामा,निरुदेवी पाल,लालबाबु पण्डित,सुशिला नेपाल,रामेश्वर फुयाल,टंक आङ्बुहाङ,जगदीश प्रसाद कुसैत,आनन्द पोखरेल, भानुभक्त ढकाल,राधा ज्ञवाली, यमलाल कँडेल,पद्यमा अर्याल पनि उपस्थित हुनुहुन्छ ।

टिप्पणीहरू