नेता पत्ता लगाउन युवती प्रयोग

चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो । केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसँग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासँग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो । अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो ।

मधेसी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बबरमहलमा १४ र १५ माघमा बसेको थियो । १४ गते त उपेन्द्रको उपस्थिति थियो । तर, १५ गते आएनन् । उनको अनुपस्थितिमा राजेन्द्र श्रेष्ठ त्यहाँ देखिए । तर, ‘मलाई ल्होछारको कार्यक्रममा जानु छ, बोल्ने पालो आयो’ भन्दै १० मिनेटमै हिँडे । मधेसका शीर्षस्थ नेतालाई राजेन्द्रले आश्वासन दिएका थिए, ‘उपेन्द्रजी आउँदै हुनुहुन्छ, उहाँ बैठकमा रहनुहुन्छ ।’

तर, ३ घण्टा बित्दासमेत उपेन्द्र बैठकमा आएनन् । १४ गतेको पूर्वसहमतिअनुसार मधेसभरी स्थानीय निकायको प्रतिवेदन जलाउने, संविधान संशोधनका लागि दबाब दिने उद्देश्यसाथ २३ गते एक दिने कार्यक्रम गर्ने कुरा थियो । मधेसका शीर्षस्थ नेताले त्यहाँ उपस्थित मिडियाकर्मीबीच पुगेर निर्णय सार्वजनिक गर्न जितेन्द्र सोनाललाई खटाए । जितेन्द्र क्यामेराअगाडि के उभिएका थिए, महेन्द्र रायले भाँजो हाले । ‘ए जितेन्द्र ! पर्खनुहोस्, उपेन्द्र यादवलाई नसोधी कहाँ हुन्छ ?’ महेन्द्रको चट्टानी अडानका कारण निर्णय सार्वजनिक हुन ढिलाइ भयो ।

मधेसका सबैजसो नेताले उपेन्द्रको मोबाइलमा सम्पर्क प्रयास गरिरहे । तर, सम्भव भएन । राजेन्द्र श्रेष्ठलाई फोन गर्दा ‘उपेन्द्रलाई फोन गरेर सोध्नुहोस्’ भन्दै टकटकिए । यो बीचमा उपेन्द्रकै पार्टीका नेता राम सहायलाई फोन पुग्यो, उनी बारा पुगेका रहेछन् । थाहा नभएको जवाफ फर्काए । बीचमा लालबाबु राउतसँग सोधनी भयो । आफू पर्सामा रहेको कारण देखाउँदै अनभिज्ञता प्रकट गरे । ड्राइभर रामानन्दलाई फोन पुग्यो, उनी रहेछन् बिदामा । पिएसओसँग सोधियो, अनभिज्ञता प्रकट गरे । करिब एक घण्टासम्म शरत्सिंह भण्डारीदेखि जितेन्द्र सोनाल, महेन्द्र राय, केशव झा, मनीष सुमन सबैले फोन घुमाए । यही बीचमा जितेन्द्र सोनालले रेखा यादवलाई फोन लगाए । तर, कहीँबाट ‘तार’ लागेन ।

बीचमै राजकिशोर यादवको पार्टी फोरम गणतान्त्रिकका सञ्जय यादवले मिश्रा थरकी एउटी महिलालाई फोन गरे । जानकार यादवले ‘हामीलाई उपेन्द्र यादवसँग सम्पर्क गर्नु छ, तपार्इंसँगै हुनुहोला, एकपटक जसरी पनि भेट्टाइदिनुहोस्, जरुरी छ’ भने । उताबाट सञ्जयलाई जवाफ आयो, ‘१० मिनेटपछि गर्नुहोस्, उनको मोबाइल स्विच अन हुन्छ ।’ नभन्दै १० मिनेटपछि भण्डारीको पार्टीका महासचिव केशव झाले फोन गर्दा उपेन्द्रको मोबाइल अन थियो ।

फोन तत्कालै महन्थ ठाकुरको कानमा पुग्यो । उनले मोर्चाको निर्णयबारे सोधे । के हतारमा थिए कुन्नि ? उपेन्द्रले ‘हुन्छ’ भन्ने जवाफ फर्काए । यही पछाडि बल्ल जितेन्द्रले मिडियामा गएर मोर्चाको निर्णय सुनाउन अनुमति पाए ।

त्यसपछाडि त के चाहियो र सबैले ‘एकैक्षणमा के जादु चलायौ ?’ भन्दै सञ्जयलाई सोधे, आफूले ठूलै लडाइँ जितेझैं प्रफुल्लित देखिएका उनी ‘छाड्नुहोस् यो सबै कुरा’ भन्दै पन्छिए ।
– हरि गजुरेल

टिप्पणीहरू