ओली बसेकै भिल्लामा सि आएपछि

ओली बसेकै भिल्लामा सि आएपछि

‘चिनियाँहरूले हाम्रो अध्यक्षलाई सोचेभन्दा धेरै महत्व दिए, राष्ट्रपति सि चिनफिङ त झन् धेरै प्रभावित हुनुभयो,’ अघिल्लो मंगलबार बसेको सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमालले चीन भ्रमणको उपलब्धि यसरी सुनाउन थाले । 

उपचुनावको समीक्षा गर्न बसेको बैठकमा ओलीले आफ्नो बेइजिङ भ्रमण पूर्णतः सफल भएको संक्षिप्त ब्रिफिङ गर्दै थप वर्णन गर्न रिमाललाई जिम्मा दिए । त्यसपछि बोल्न थालेका उनले प्रारम्भमा भ्रमणका उपलब्धिबारे बैठकलाई जानकारी गराए । बिआरआइ फ्रेमवर्कमा जुटेको सहमति, राष्ट्रपति सिसँगको भेटवार्ता, सत्ता साझेदार नेपाली कांग्रेसले खेलेको भूमिकाबारे लामो चर्चा गरे । 

त्यही क्रममा बेइजिङमा पाएको सम्मान र अध्यक्ष ओलीको प्रस्तुतिले चिनियाँ प्रभावित भएको सन्दर्भ केलाउँदै भने– राष्ट्रपति सि हामी बसेकै भिल्लामा आएर भेट्नुभयो । वन टु वन भेटमा अध्यक्षलाई ‘लाओ फङयो’ भनेर संबोधन गर्नुभयो । यो हाम्रो अध्यक्ष र नेपाललाई नै दिएको निकै ठूलो सम्मान हो ।

चिनियाँ भाषामा ‘लाओ फङयो’ को अर्थ पुरानो साथी भन्ने बुझिन्छ । तर, ओलीलाई चिनियाँ राष्ट्रपतिले कुन सन्दर्भमा त्यस्तो संबोधन गरेका हुन् भन्नेबारे चैं रिमालले थप खुलाएनन् । उनले त्यसो भनिरहँदा ‘टाउको हल्लाउँदै’ सुनिरहेका ओलीले पनि यसबारे खुलस्त नपारेको बैठकमा सहभागी एक सचिवले बताए । 

बेइजिङ युनिभर्सिटीमा प्रधानमन्त्री ओलीले गरेको संबोधनलाई पनि चिनियाँहरूले धेरै मन पराएको रिपोर्टिङ बैठकमा गरिएको थियो । त्यस्तै, बिआरआई फ्रेमवर्कमा हस्ताक्षर नहुने अवस्थाबाट कसरी सहमतिको स्थितिमा पुग्यो भन्नेबारे पनि चर्चा चल्यो । प्रधानमन्त्री ओली र राष्ट्रपति सिबीच वन टु वन वार्तापछि गाँठो फुकेको जनाउँदै उनले खुलाए– हामीले फर्मल च्यानल मात्र हैन, ट्रयाक टु को पनि प्रयास गरिराखेका थियौँ । तर, कस्तो ‘ट्रयाक टु’ भन्नेबारे चाहिँ थप खुलाइएन । 

बिआरआई फ्रेमवर्क सम्झौताप्रति कांग्रेस नेताहरूको टिप्पणीलाई लिएर रिमालले बैठकमा आशंका व्यक्त गरेका थिए । कांग्रेसको भूमिकाप्रति असन्तुष्टि जनाउँदै भने– बिआरआईमा हस्ताक्षर गर्न त्यहाँ उनीहरू (परराष्ट्रमन्त्री आरजू राणा) ले सहयोग गरे, तर यता आएपछि ऋण लिने हैन भनेर के गर्न खोजेको हो बुझ्न सकिएको छैन । यसबारे तिनै सचिव भन्छन्– सम्झौतामा उल्लेख भएको भाषा र फ्रेमवर्कमा परेका परियोजना ऋणमा कि अनुदान भन्नेमा कांग्रेससँग अझै विमति रहेको उहाँको भनाइबाट बुझिन्थ्यो । 

चीनमा प्रधानमन्त्रीले ठूलो सम्मान पाएको चर्चा गरिरहँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा लिएको ऋणलाई अनुदानमा रूपान्तरण गराउने विषयमा के–कस्तो प्रगति भयो भन्नेबारे बैठकमा केही उल्लेख गरिएन । प्रधानमन्त्री ओली भ्रमणमा जानुअघि चीनले नेपाललाई दिने घोषणा गरेको रकमलाई अनुदानमा परिणत गराउने र पोखरा एयरपोर्टको ऋण त्यसैबाट चुक्ता गर्नेगरी बेइजिङमा औपचारिक प्रस्ताव गर्ने बताइएको थियो । 

चिनियाँ राष्ट्रपति सिले नेपाल भ्रमणका बेला ५६ अर्ब सहयोग घोषणा गरेका थिए । त्यस्तै, तत्कालीन राष्ट्रपति रामवरण यादव चीन गएका बेला १६ अर्ब र बिद्या भण्डारी जाँदा पनि त्यसरी नै सहयोग दिने चिनियाँ प्रतिवद्धता थियो । तर, जुन शीर्षकका लागि सहयोग घोषणा गरिएको हो, नेपालले त्यसअनुसार परियोजना छनोट गर्न नसकेकाले झण्डै एक खर्ब घोषित सहयोग रोकिएको अवस्था छ । यसबारे उनै एमाले नेताको टिप्पणी छ– उनीहरूले खातामा राख्दिएको पैसा हो र हामीले भन्नेबित्तिक्कै फुत्त झिकेर दिनलाई ? परियोजना प्रस्ताव गर्न नसक्ने अनि सहयोग रोकियो भनेर हुन्छ ! 

सचिवालय बैठकमा उपचुनावको परिणाम सन्तोषजनक नभएको रिपोर्ट पेश गरिएको थियो । त्यसमाथि संक्षिप्त धारणा राखेका केही नेताले पार्टीको पक्षमा जनमत घट्दै गएको भनी चिन्ता व्यक्त गर्दा अध्यक्ष ओलीसहित सबैले सहमति जनाएका थिए । ‘जनमत बिग्रियो, संख्या थोरै होला तर यो लाक्षणिक कुरा हो,’ उपाध्यक्ष सुरेन्द्र पाण्डेले यसो भन्दा अरुले टाउको हल्लाएर समर्थन जनाएको सुनाउँदै तिनै एमाले सचिव भन्छन्– ‘ओलीको ठूलो फोटो राखेर मात्र अब जनताले भोट हाल्दैनन् भन्ने सन्देश उपचुनावले दिएको छ ।’
 

टिप्पणीहरू