ढाँटेको कुरा काटेर मिल्यो त !

ढाँटेको कुरा काटेर मिल्यो त !
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपक बोहोराले डाक्टर निकोलस भुसाललाई खटाएर प्रहरी हिरासतमा रहेका रवि लामिछानेको फोटो आफूले नखिचाएको जिकिर गरेका छन् । भुसालसँग भएको भर्चुअल संवाद 'लिक' भएपछि उनले फोटो काण्डमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका हुन् । 

लामिछानेको फोटो सार्वजनिक भएलगत्तै बोहोरा र भुसालबीच ह्वाट्सएपमा भएको कुराकानीको स्क्रिनसट बाहिर आएको थियो । जसमा उनीहरुले कसरी फोटो खिच्ने र सञ्जालमा भाइरल गराउने भन्ने योजना बुनेको प्रष्ट बुझिन्छ ।     

तर,बोहोराले भने आफ्नो नामबाट नक्कली अकाउन्ट बनाएर 'फेक च्याट' स्क्रिनसट बाहिर ल्याइएको दावी गरेका छन् । यसबारे प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको पनि बताएका छन् ।

"भुसालले तस्वीर फेसबुकमा पोष्ट गरेर तत्कालै डिलिट गर्नु,भोजराज थापा लगायतका युट्युबरहरुले त्यसलाई सर्कुलेट गर्नु र बोहराले फेसबुकमार्फत सरकार र प्रहरी प्रशासनको नियतमाथि प्रश्न उठाउनु  !" 

‘हिजोदेखि निकोलस भुसाल र मबीच कुरा भयो भनेर एउटा फेक च्याट गरेको स्क्रिनसट भाइरल छ । यो के हो भनेर धेरैले मलाई म्यासेज गरिरहेका छन्’, उनले एउटा भिडियो सन्देशमा भनेका छन्, ‘निकोलस भाइलाई मैले नभेटेकै सात महिना भयो होला । निकोलस पोखरा आएकै मलाई थाहा छैन । फेक च्याट भाइरल बनाउनेहरूविरुद्ध मैले साइबर ब्युरोमा निवेदन दिएको छु ।’

बोहराले सात महिनादेखि भुसालसँग भेट नभएको ठोकुवा गरिरहँदा अघिल्लो महिना पोखराको प्रदर्शनमा उनीहरु सँगै देखिएको बताउनेहरु पनि छन् । अर्कोतिर,रविको फोटो आफूले खिचेर फेसबुकमा हालेको प्रतिक्रिया दिएका भुसालले स्क्रिन सट प्रकरणमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । 

भुसालले तस्वीर फेसबुकमा पोष्ट गरेर तत्कालै डिलिट गर्नु,भोजराज थापा लगायतका युट्युबरहरुले त्यसलाई सर्कुलेट गर्नु र बोहराले फेसबुकमार्फत सरकार र प्रहरी प्रशासनको नियतमाथि प्रश्न उठाउनु  ! योजनाबद्ध त देखिन्छ नै । त्यसैले कतिपयले प्रश्न गरेका छन्, ‘मानौँ, त्यो च्याट फेक नै हो । तर, भुसाल र बोहोरा एक महिनाअघि पोखरामा सँगै देखिएको हैन ? अनि अहिले अन्जान सावित गर्न सात महिनादेखि भेट भएकै छैन भन्ने ? के तमाशा हो यो ?’

टिप्पणीहरू