नयाँ अपराधी धमाधम, पुराना अझै सुइँकुच्चा
प्रहरीले पछिल्ला जघन्य अपराधमा संलग्न अभियुक्तलाई त मसिनो अनुसन्धानबाट समात्न थालेको छ । तर, विगत वर्षमा भएका जघन्य अपराधका अयिभुक्तको भने सुइँको समेत लाग्न सकेको छैन । ‘तत्कालै भएका घटनामा गरिने अनुसन्धान र पुराना घटनामा गरिने अनुसन्धानको विधि र प्रक्रिया फरक भएकाले पनि ती फेला पर्न नसकेका हुन्’– एसपी बसुन्धरा खड्काले भनिन् ।
०७९ कात्तिक २७ गते पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक मन्दिरनजिकै दिउँसो घरमा बसिरहेको दम्पती रामबहादुर थापा र श्रीमती गीता थापाको हत्या भयो । घरको सम्पत्ति चोरी भयो । सन्तानसँग अलग बस्दै आएका तिनको हत्यामा संलग्नको पहिचान अझै हुन सकेको छैन । २०७९ जेठ २ गते पाँचखाल नगरपालिका १२ घर भएकी सानीमल्ल ठकुरी घाँटी रेटेर मारिइन् । उक्त घटनामा संलग्न अभियुक्तको अझै पहिचान खुल्न सकेको छैन ।
२०८१ जेठ ६ गते पाँचखाल ४ जिरो किलोमा दोलखाका विष्णुबहादुर सुवेदी जलाइएको र तारले रुखमा बाँधेको अवस्थामा फेला परे । प्रहरीले अनुसन्धान जारी राखे पनि अझै घटनाको कारण र अवस्था, अभियुक्तबारे पत्ता लाग्न सकेको छैन । ०७५ कात्तिक ४ गते दशैँ टीकाको दिन नमोबुद्ध ५ कानपुर तेमाल घर भएका ज्ञानध्वज तामाङको हत्या हुँदा प्रहरीले तत्कालै तालिमप्राप्त कुकुर परिचालन पनि गरेकै हो । एसपी रविराज खड्का आफैँ घटनास्थल पुगेका थिए । प्रहरीले क्षमता र प्रविधिले भ्याएसम्म अनुसन्धान गर्यो तैपनि, अभियुक्त पत्ता लाग्न सकेको छैन ।
घटनास्थलमा अभियुक्तले छाडेका तत्कालका प्रमाण, त्यतिबेला लिइने सम्पर्क ब्यक्तिका नम्बर तथा उनीहरूले प्रयोग गरेका शंकास्पद सामग्रीका आधारमा गरिने अनुसन्धानले तत्कालै अभियुक्तसम्म पुग्न सहज हुने उत्कृष्ट अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । उनकै नेतृत्वमा खटिएको टोलीले रोशी–३ मा आफ्नै आमा मारेर प्रहरीमा उजुरी दिने छोरा नै हत्यामा संलग्न भएको पत्ता लगायो । लगत्तै नमोबुद्धमा बुबा मार्ने छोरा समात्न प्रहरी सफल भयो । ललितपुर घर भई भक्तपुरमा अपहरण, शरीर बन्धक तथा फिरौतीपछि दोलालघाट नजिकै शव फालेको घटनामा संलग्न अभियुक्तको पनि प्रहरीले पहिचान गरेको छ । चालु वर्ष प्रहरीले जघन्य अपराधका ४ वटै घटनामा अभियुक्त पक्राउ गरी अनुसन्धानमा सफलता प्राप्त गरेको छ । तर, अघिल्ला वर्षका प्रमुख चार जघन्य अपराधमा अभियुक्त छेउसम्म पनि पुग्न सकिएको छैन ।
महाभारतमा २०८१ जेठ ७ गते मारिने दम्पतीको हत्यामा संलग्नलाई पक्राउ गरिएको थियो । अधिकांश हत्या सम्पति र पैसाका लागि भएको अनुसन्धानले देखाएको छ । ०८०/८१ मा कर्तब्य ज्यानसम्वन्धी १४ वटा घटना भए । जसमध्ये ८ वटा घटनामा संलग्नलाई कैद सजायँँ सुनाइएको छ भने ६ वटामा संलग्नहरू पुर्पक्षका लागि कारागारमा छन् । ज्यान मार्ने उद्योगमा १७ वटा घटनामध्ये ९ वटाको मुद्दा टुंगिएको छ भने ८ वटा बाँकी छ । आत्महत्या दुरुत्साहनमा ४ वटा घटना दर्ता भएकोमा १ वटा फैसला भएको छ । ज्यानसम्बन्धी ३५ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । चालु वर्ष चार महिनाको यो अवधिमा ४ जनाको हत्या गरिएको छ । झुण्डिएर र विष सेवनबाट भने २९ जनाको मृत्यु भएको छ । सबै घटना पैसा र सम्पत्तिका लागि भएको तथ्य र अनुसन्धानले देखाएको छ ।
– मोतीराम तिमल्सिना
टिप्पणीहरू