जानै लागेका हुन् र हाम्रा प्रधानमन्त्री दिल्लीतिर ?

जानै लागेका हुन् र हाम्रा प्रधानमन्त्री दिल्लीतिर ?

के निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुन लागेको हो ? अन्तर्राष्ट्रिय मामिलामा सरोकार राख्ने धेरैलाई चासोको विषय हो, यो । तर, यसको भरपर्दो जवाफ दिन सक्ने अवस्थामा भने कोही पनि छैन । स्वयं ओलीले झापा पुगेर आफू चाँडै भारत जाने घोषणा गरे पनि उनलाई औपचारिक निम्ता आजका मितिसम्म आएको छैन । त्यसैगरी, उनी निकटस्थहरू प्रधानमन्त्रीको भारत भ्रमण गराउन अहोरात्र खटिरहेका छन् ।

समाचार स्रोतका अनुसार चर्चित बिचौलिया दीपक भट्टको संयोजनमा भारत गएका उद्योगमन्त्री दामोदर भण्डारीसँग बिजेपीको विदेश विभाग प्रमुख विजय चौथाईवालाले भनेका थिए, ‘यता आउने कुराको स्वीकृति पनि त चीनसँग लिनुपर्ने होला नि तपाईंका प्रधानमन्त्रीले !’ हाम्रा प्रधानमन्त्रीलाई आउने वातावरण मिलाइदिनुपर्‍यो भन्ने उनको आग्रहमा चौथाइवालाले यस्तो जवाफ दिएपछि पनि एमाले मन्त्रीहरू भने निराशचाहिँ देखिएका छैनन् । उनै मन्त्रीले केही दिनअगाडि ठोकुवा गर्दै भनेका थिए, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमण सन् २०२५ को जनवरीभित्रै सम्पन्न हुनेछ ।’ 

एमाले विदेश विभागको सदस्यसमेत रहेका पत्रकार गोपाल खनालले’ अब प्रधानमन्त्रीको भ्रमणसहित भारतसँगको सम्बन्ध सुधार हुन लागिरहेको ठोकुवा गरेका छन् भने परराष्ट्र मन्त्री आरजु देउवा ब्रसेल्सबाट सिधै दिल्ली आएर भ्रमणको चाँजोपाँजो मिलाउने कुरा पनि चलिरहेको छ । अब भने भारतले ओलीलाई बोलाउने मानसिकता बनाइसकेको बताइन्छ । उनीहरूका अनुसार पहिले दिल्ली बोलाउँदा चीन गएर ओलीले बिआरआईमा हस्ताक्षर गर्ने पो हुन् कि भन्ने लागेर एक प्रकारको मानसिक दवाव दिन नबोलाएको अवस्था थियो । तर, अब त्यो बाँकी रहेन । त्यसबाहेक अन्य छिमेकीसँग सम्बन्ध बिग्रिएका कारण आन्तरिक दवाबमा रहेका मोदी लोकलाई देखाउनकै लागि भए पनि ओलीलाई स्वागत गर्ने मुडमा पुगेको हुन सक्छ । 

एमाले नेताहरूका अनुसार प्रधानमन्त्रीले अहिले भारत भ्रमणदेखि लिएर अन्य विषयहरूमा समेत खासगरी पूर्वपरराष्ट्रमन्त्री एवं उपमहासचिव प्रदीप ज्ञवालीसँग भने खासै कुराकानी गर्ने गरेका छैनन् । उनले सबै कामको जिम्मा राजनीतिक सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार युवराज खतिवडालाई नै दिएको भन्दै नेताहरू रुष्ट बनेका छन्् । बरु चीन भ्रमणमा भएका कतिपय गतिविधि र भ्रमणको अन्त्यमा जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लिखित तिब्बत र ताइवानसम्बन्धी विषयले भने प्रधानमन्त्रीको यो भ्रमण ऐतिहासिक बनेको चर्चा चलिरहेको छ । 

केपी ओलीको भारत भ्रमण अझै अनिश्चित रहे पनि उनकै एक मन्त्रीले भने भारतसँगको आफ्नो निकट सम्बन्धका आधारमा एउटा गतिलै काम गरेका छन् । त्यो हो, भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमका लागि पाइपलाइन पूर्ण अनुदानमा निर्माण गरिदिने कुराको सुनिश्चितता । नेपालले आफ्नै लगानीमा बनाउनुपर्ने यो परियोजनाको जिम्मा भने भारतलाई नै दिनुको विकल्प थिएन । किनकि भारतले तेल पठाउँदा कुन खालको प्रेसर अर्थात् चापमा कस्तो पाइपलाइनबाट कति मात्रामा पठाउने हो भन्ने कुराको जानकारी नेपाललाई हुने कुरा भएन । प्राविधिक रूपमा उताकै तेल कम्पनीलाई नै जानकारी हुने विषय भएकाले सो पाइपलाइनको निर्माण कार्य पनि उनीहरूले नै गर्नुपर्ने हुन्थ्यो । र, त्यसको निर्माण खर्च भने नेपालले गर्ने भन्ने कुरा थियो । तर १६ अर्ब रूपैयाँको लागतमा निर्माण हुने दुईवटा पाइपलाइन अब भारत सरकारले अनुदानका रूपमा नेपाललाई बनाइदिने कुराको सुनिश्चितता उद्योगमन्त्री दामोदर भण्डारीको भारत भ्रमणका क्रममा भएको छ । 

सिलिगुडीदेखि झापा चारआलीसम्म निर्माण हुने पाइपलाइन र हालसम्म मोतीहारीदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई लोथरसम्म पु¥याउने काम भारत सरकारले गरिदिने भएको छ । भारतीय भूमिमासमेत काम गर्नुपर्ने हुँदा अरु कसैलाई जिम्मा दिनेगरी अन्तर्राष्ट्रिय ठेक्का लगाउन सक्ने अवस्थासमेत थिएन । अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन नेपालले नै आफै निर्माण गर्न सक्थ्यो तर त्यसमा पनि प्राविधिक समस्या हुन्थ्यो । यसअघि केपी ओली र प्रचण्डले भारतबाट नेपाली खर्चमा पाइपलाइन निर्माण गरिदिने सम्झौतामा हस्ताक्षर गरी फर्किएकामा त्यसलाई उल्टाउँदै दामोदर भण्डारीले अनुदानमा निर्माण गरिदिने कुरामा भारतीयलाई मनाएका थिए । 

अहिले भारत सरकारले रुसबाट सस्तो मूल्यमा कच्चा तेल खरिद गर्दै त्यसलाई प्रशोधन गरी युरोपमा महँगो मूल्यमा बेच्ने गरिरहेको छ । जसबाट भारतको आयल कर्पोरेशनलाई मनग्ये मुनाफा बेचिरहेको छ । त्यो पैसा कहाँ खर्च गर्ने भन्ने भइरहेको बेला उद्योगमन्त्री दामोदर भण्डारीले माग गरे र उसले त्यसलाई स्वीकार गर्‍यो । त्यसबाहेक भारत सरकारले बजेटमार्फत नेपाललाई आर्थिक सहयोग गर्न भनेर छुट्याएको रकम लगभग आधा पनि खर्च भइ नरहेको अवस्था थियो । 

त्यसबाहेक भारतलाई पनि एक भरपर्दो व्यक्ति एमालेभित्र चाहिएको छ । त्यसैले भारतीय संस्थापन पक्ष दामोदर भण्डारीलाई प्रमोट गर्ने योजनामा रहेको स्रोतको बुझाइ छ । केपी ओलीले दामोदर भण्डारीलाई दोहो¥याएर मन्त्री बनाउनुको कारण पनि उनको भारतसँगको निकट सम्बन्ध नै रहेको हुनुपर्छ । भण्डारीको राजनाथ सिंहदेखि एस जयशंकरसँगसमेत राम्रो सम्बन्ध छ । शुरुमा स्वीकृति नदिए पनि पछि कतै आफ्नो भ्रमणको चाँजोपाँजो मिलिहाल्छ कि भन्ने आशमा ओलीले उनलाई अन्तिम घडीमा दिल्ली जान अनुमति दिएको बताइन्छ । 

 
 

टिप्पणीहरू