प्रहरीमा अब पालैपालो
यतिवेला सरुवा र बढुवाको मौसम छ । केही एसएसपी डिआइजी हुने दौडमा छन् भने केही डिआइजी एआइजी हुँदै आइजिपी हुने हिसाब निकाल्दै छन् ।
चैतमा डिआइजी भोला रावल र गणेश चन्द घर जाने भएका छन् । यी दुवैलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि बढुवा भएका डिआइजीमध्ये मनोज केसी, दानबहादुर कार्की र राजन अधिकारी हुन् । केसी प्रहरी प्रतिष्ठानमा मास्टर्स इन पुलिस साइन्स विषयको पाठ्यक्रम तयारी गर्दै छन् । यसैकारण उनको सरुवा एक महिनापछि कुनै प्रदेशतिर हुनेछ । सरुवाकै मेलोमा विशेष व्युरोका राजन अधिकारीलाई कोशी र दानबहादुर कार्कीलाई लुम्बिनी पठाइएको छ ।
आइजिपी वसन्तबहादुर कुँवरले रिटायर्ड हुन लागेका डिआइजी भरत बोहोरालाई एआइजिपीका लागि प्रस्ताव गरेका छन् । उनले एआइजीको कार्यभार एक हप्ता पनि सम्हाल्ने छैनन् । गण्डकी प्रदेश प्रमुख दुर्गा सिंह कञ्चनपुर अर्थात् अहिलेका गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रकी हुन् । गणेश चन्द र दुर्गासिंह दम्पती पनि हुन् । दुर्गा चैत ४ गतेसम्म सेवामा रहनेछिन्् । भोला रावल र भरत बोहोरा भने कात्तिक १५ मा रिटायर्ड हुनेछन् । ती दुई रिटायर्ड हुनेबित्तिकै दुई एआइजी खाली हुनेछ भने सो पदमा डिआइजी कुबेर कडायतसहित जनक भट्टराई र रवीन्द्र केसीमध्येबाट एक जनाको सम्भावना छ । चैत ४ गतेपछि एआइजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये कुनै एक आइजिपी हुनेछन् ।
अहिले प्रहरीमा ८ जना एआइजी छन् । त्यसपछि ६ जना डिआइजीलाई बढुवा गर्नुपर्ने हुन्छ । अहिले एक नम्बरमा रहेका लालमणि आचार्य, दुई नम्बरका चन्द्रकुबेर खापुङ र तीन नम्बरमा कृष्णहरि शर्मा देखिन्छन् । वर्तमान आइजी कुँवरसँगैका जागिरे हुन् । यी पछि सबै दानबहादुर, मनोज र राजनले एआइजीको फुली लगाउनेछन् । वरिष्ठतालाई आधार मान्दा खाली हुने ६ एआइजी पदमा ६ जना डिआइजी तयार छन् । यिनमा राष्ट्रिय अनुसन्धानबाट हिसाब मिलान गरी आएकाहरुको अवस्था के हुने यकिन छैन ।
टिप्पणीहरू