विप्लव समूहका रमेश गिरीमाथि कतारमै सुन तस्करीको आरोप
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेशस्थित जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मोर्चा कतारका सल्लाहकार संयोजक रमेश गिरीमाथि सुन तस्करीको आरोप लागेको छ । मोर्चाको मध्यपूर्व संगठनले गिरीले सुन तस्करीलाई पालन-पोषण गरेको गम्भीर आरोप लगाउँदै संगठनबाट निश्कासितसमेत गरेको छ ।
गिरीमाथि संगठनको विधान उल्लङ्घन गर्नुका साथै अनुशासनहीन काम गरेको, गुटबन्दीलाई बढावा दिएको, व्यक्तिगत स्वार्थमा लागेकोजस्ता आरोप पनि लगाइएको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै मध्यपूर्व जनप्रगतिशील मोर्चाले आफ्नो जिम्मेवारीलाई ख्याल नगर्ने,व्यक्तिगत तथा महत्त्वकाँक्षी योजनामा मात्र लागिपर्ने,नीतिगत योजनाहरुलाई बहिस्कार गर्ने गरेका कारण गिरीलाई कारवाही गर्नुपरेको जानकारी दिएको छ ।
त्यस्तै,गुटवन्दी गरेर मोर्चामा अस्थिरता पैदा गराएको, सांगठनिक गोप्यता तोडेको, आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको,अनेक बहानावाजी गर्दै आफूलाई चोख्याउने प्रयास मात्र गरेको जस्ता आरोप पनि लगाइएको छ । गिरीले मोर्चाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिनुको साटो विवाद सृजना गरेको,आफू अनुकूलका एकल निर्णयहरु मात्र लागू गर्न खोजेको,मोर्चालाई मनोमानी ढंगले आफ्नै नीतिमा लैजान खोजेको पनि विज्ञप्तिमा बताइएको छ ।
सुन तस्करलाई पालन-पोषण गरेको आरोप लगाइएका गिरीमाथि मोर्चाको चल-अचल सम्पत्तिको खोजी गर्नेलाई निस्कासन गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ । गिरीकै कारण सातौँ अधिवेशनबाट निर्वाचित उपाध्यक्ष, महासचिव,सचिव र बहुमत सदस्यले बिद्रोह गरेर असन्तुष्ट पक्षलाई मोर्चा गठनको बाटो खोलिदिएको पनि आरोप छ । विज्ञप्तिमा छलफलका लागि बारम्बार आग्रह गर्दा पनि गिरीले अस्वीकार गरेका कारण कारवाही गरिएको जनाइएको छ ।
टिप्पणीहरू