काठमाडौंमा साढे ७ किलो यार्सागुम्बा लुटियो, लुटपाटमा भारतीयको समेत संलग्नता

काठमाडौंमा साढे ७ किलो यार्सागुम्बा लुटियो, लुटपाटमा भारतीयको समेत संलग्नता

काठमाडौंमा यार्सागुम्बा किन्ने भनेर बिक्रेतालाई होटलमा बोलाएर लुटपाट गरिएको छ । यार्सागुम्बा लुटपाट गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

घटनाअनुसार हिजो दिउँसो काठमाडौंको बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का दिपक लामा र स्वयम्भू बस्ने सिन्धुपाल्चोक बलेफी गाँउपालिका–६ का सुरेश सापकोटालाई १ किलो यार्सागुम्बा २८ लाख रुपैयाँमा खरिद गर्छु भन्दै मित्रनगरस्थित होटेलमा बोलाएर सात जनाले साढे ७ किलो यार्सागुम्बा लुटेर फरार भएका थिए ।

हिजो फरार भएर आज पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका–५ का ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका–२ का ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ का २७ वर्षीय दिपक थापा मगर, काभ्रे पाँचखाल नगरपालिका–१२ का २७ वर्षीय विशाल लामा, काभ्रे तिमाल गाउँपालिका–४ का २३ वर्षीय योङदेन लामा, भक्तपुर सानोठिमी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–२ का २२ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं खुसिबु, नयाँबजार बस्ने भारतका ३७ वर्षीय मोहम्मद इसाक रहेका छन् ।

घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा र नगद १ लाख ५३ हजार रुपैयाँसहित पक्राउ गरेको बताइएको छ ।

टिप्पणीहरू