माधव नेपालको सनाखतबारे ओलीको पत्रकार सम्मेलन
आज बिहान ११ बजे निर्वाचन आयोगमा माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताको अन्तिम प्रक्रिया हुँदैछ । सांसद र केन्द्रीय सदस्यहरुको सनाखतपछि सम्भवतः आजै अपरान्ह उक्त दलले कानुनी मान्यता पाएको प्रमाणपत्र दिइने छ ।
यता,शक्तिशाली सरकार र तत्कालीन नेकपा तथा एमालेको नेतृत्व गर्नुभएका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वको समयमा हुन लागेको पार्टीको औपचारिक विभाजनलाई सामान्य देखाउन ११ बजे पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ । उहाँले तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
आजै राजधानीमा विभिन्न कार्यक्रम समेत हुने भएका छन् । नेपाली काँग्रेसको सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको धर्ना आज पनि पार्टी कार्यालय सानेपामा बिहान ९ बजेदेखि जारी छ ।
नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू शान्तिवाटिका, रत्नपार्कमा १० बजे भेला भएर आयोग जाने कार्यक्रम रहेको छ ।
आजै बिहान १० बजे बागमती प्रदेश समिति,गैरभौगोलिक विशेष प्रदेश समिति,शेर्पालुङ राष्ट्रिय समिति,ताम्सालिङ राष्ट्रिय समिति र नेवाः राष्ट्रिय समितिले जनता समाजवादी पार्टी,नेपालको संगठन सुदृढीकरण तथा जनजागरण कार्यक्रम गर्ने भएका छन् । कार्यक्रम नेपाः ब्याङ्क्वेट,खुशीबु, नयाँबजारमा हुने बताइएको छ ।
उता,नेपाल टेलिकम,नेपाल वायुसेवा निगम र नेपाल उड्डयन प्राधिकरणमा हुँदै आएको धर्ना, नाराबाजी र तालाबन्दी कार्यक्रम आज पनि राखिएको छ । तीनै वटा कार्यालयका कर्मचारीले आफ्ना माग पूरा नभएको भन्दै बिरोधका कार्यक्रम गर्दै आएका छन् ।
आज संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक दिउँसो १ बजे संसद सचिवालय, सिंहदरबारमा बोलाइएको छ ।
उता,नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले भारतीय एसएसबीद्वारा दार्चुलाका जयसिंह धामीको हत्या गरिएको र पेट्रोलियम पदार्थको मूल्य बृध्दिविरुद्ध र्यालीसहित विरोध प्रदर्शन गर्ने जनाएको छ । कार्यक्रम दिउँसो डेढ बजे शान्तिबाटिका,रत्नपार्कमा हुनेछ ।
त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल, मध्यपुर थिमी नगर कमिटीको प्रथम पूर्णबैठक तथा भक्तपुर जिल्ला कमिटीमा मनोनित हुनेहरुलाई बधाई तथा शुभकामना कार्यक्रम राखिएको छ । कार्यक्रम साँझ ५ बजे शंखधर पार्टी प्यालेस,नयाँ थिमी,भक्तपुरमा राखिएको हो ।
उता,सँयुक्त विद्यार्थी संगठनले विभिन्न माग राखी प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको डिनको कार्यालयमा लगाएको तालाबन्दीलाई आज पनि जारी राख्ने निर्णय गरेको छ ।
टिप्पणीहरू