आयोगले अन्यथा निर्णय गरे देउवापक्ष सडकमा ओर्लिने

आयोगले अन्यथा निर्णय गरे देउवापक्ष सडकमा ओर्लिने

नेपाली काँग्रेसको संस्थापन पक्षले गगन थापा समूहले गरेको विशेष महाधिवेशनलाई पार्टीको विधानले नचिन्ने बताएको छ । विधानको गलत व्याख्या गरेर भेलालाई विशेष महाधिवेशन भनिएको भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपत्ति जनाए । 

सानेपास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नै आधिकारिक काँग्रेस भएको दावी पनि गरेका छन् । विशेष महाधिवेशन आयोजना गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएको जिकिर उनले दोहोर्याए ।

‘विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टीको विधानविपरित निर्वाचन आयोगमा पुगेको जानकारी पायौँ, आज निर्वाचन आयोगमा आफ्ना वैधानिक कुराहरू, नेपाली काँग्रेस र विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएर आएका छौँ’, खड्काले भने, ‘पार्टीको अधिवेशन, विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै छ, नेपाली काँग्रेसको विधानले कसैलाई पनि दिएको छैन, यो कुरा धारा र दफामा प्रष्ट छ ।’

विशेष महाधिवेनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवाविरुद्ध भ्रम फैलाएको खड्काले बताए । 

‘उहाँहरूकै मागअनुसार राष्ट्रिय सभाको उम्मेदवारको टिकटमा मैल हस्ताक्षर गरेँ, प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा गरेँ, अहिले प्रत्यक्षको बेला आएको छ, तपाईहरू जसलाई भन्नुहुन्छ उसलाई दिनुस् तर पार्टी विखण्डन रोक्नुस् भनेका थियौँ’, उनले अघि थपे, ‘तर उहाँहरूको पार्टी विभाजन गर्ने योजना नै रहेछ, जेजे कारणले सभापतिलाई दोष दिएर यो अवस्था आयो भन्नु भयो, त्यो सारा कुरा झुटा हुन्, गलत हुन् ।’ 

कावा सभापति खड्काले आफूहरूलाई आयोगले पार्टीको आधिकारिकता नदिए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । षड्यन्त्र र दबाबमा परेर आयोगले काँग्रेसको विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने बताए । 

‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदी निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै नेपाली काँग्रेसको विधानविपरित अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुनेछैन’, उनले भने, ‘प्रत्येक ठाउँमा नेपाली काँग्रेस चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौँ । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरुका आधारमा भनेका हौँ ।’

पुस अन्तिम साता काठमाडौंमा सम्पन्न काँग्रेसको विषेश महाधिवेशनमार्फत गगनको नेतृत्वमा छुट्टै कार्यसमिति चयन गरेपछि सो पार्टी विभाजित भएको छ । संस्थापन र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।

टिप्पणीहरू