रविको अभियोग फिर्ता लिने निर्णयविरुद्ध अर्को पनि रिट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को पनि रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज रिट निवेदन पेश गरेका हुन् ।
सो रिट दर्ताको प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले बताए । त्रिपाठीले कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । जनआस्थासँग उनले भने,‘मैले रिट निवेदन पेश गरेको छु । रिट अहिले दर्ता प्रक्रियामा छ । सम्भवतः सोमबारतिर पेशी तोकिन्छ होला ।’
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रविविरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौं, रुपन्देही,कास्की र पर्सालाई पत्राचार पनि गरिसकिएको छ ।
महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णय कानुनविपरीत रहेकाले बदर गर्न माग गर्दै सिन्धुलीका युवराज सफलले आज सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।
टिप्पणीहरू