दोस्रो पुस्तालाई नेतृत्व छोड्न माधव नेपाल तयार
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालले आफ्नो साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गर्नु भएको छ । उहाँले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणासमेत गर्नुभयो ।
पार्टी निकट पेशागत महासंघको बागमती प्रदेश कमिटीले आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले पदका लागि कहिल्यै पनि लडाई नगरेको पटक-पटक दोहोर्याउनु भयो ।
नेपालले भन्नु भयो,‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै छोडी हाल्छु,अनि केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन,यो । विचारको लडाइँ हो,यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।’
केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको उहाँको भनाइ छ । उहाँले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नु भयो । आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता,कार्यकर्तालाई सचेत गराउनुभयो ।
‘खाली कुप्रचारबाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस् । उनीहरुको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरु इमान्दार, क्रान्तिकारी कम्युनिष्ट हुन सक्छन् ?’ नेपालले प्रश्न गर्नुभयो ।
समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि संयोजक नेपालले बताउनुभयो । यस अभियानमा पदलोलुप नभई काम गर्न उहाँले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिनु भयो ।
टिप्पणीहरू