म्याग्दीलाई पनि छोडेन पहिरोले : ८ घरमा क्षति,३ जना घाइते, जोमसोम जोड्ने सडक अवरुद्ध

म्याग्दीलाई पनि छोडेन पहिरोले : ८ घरमा क्षति,३ जना घाइते, जोमसोम जोड्ने सडक अवरुद्ध

-अमृतप्रसाद पौडेल

अविरल वर्षासँगै आएको पहिरोले म्याग्दीको सदरमुकाम बेनीमा ८ घर भत्किएको छ भने तीन जना घाइते भएका छन् । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ कालीपुलका गोविन्दबहादुर बुढा,रेखा नेपाल र सन्तु पुर्जा पुन घाइते भएका हुन् ।

पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भीरबाट पहिरो खस्दा कालीपुलका क्षेत्रबहादुर गौचन, मंगलबहादुर गुरुङ,सोना पुनको घरमा क्षति पुगेको र ताराप्रसाद पुन,सुरेश पुन,केन्द्र राई,टिका पूर्जा,हर्कबहादुर मगरको घरमा आंशिक क्षति भएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष एवं प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

पहिरो खसेर कालीगण्डकी नदीको छालले क्षति पुगेका घरका सामानहरु कालीपुलस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सुरक्षित सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी बीरेन्द्रराज गुरुङले बताउनुभयो ।गुरुङका अनुसार प्रारम्भिक चरणमा क्षति पुगेका ८ घरको सामान सारिएको छ र अन्य घरपरिवारले पनि असुरक्षित महसुस गरेको खण्डमा सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।

पहिरोले ३ जनाको अधिक र ५ जनाको घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले पीडित परिवारको उद्धार र राहतका लागि आकस्मिक निर्णय गरिसकेको छ ।

राती २ बजे पहिरो गएको थियो भने अहिलेसम्म पनि पहिरो खस्ने क्रम रोकिएको छैन । जसका कारण कालीपुल क्षेत्रका ३० घर जोखिममा छन् । मध्यरात पहिरो खसेपछि स्थानीयवासीमा भागदौड मच्चिएको थियो भने पहिरो खसेपछि स्थानीयवासीले सडकमै वर्षामा रुझेर रात बिताएका थिए । वर्षा अहिले पनि नरोकिएकाले क्षतिको यकिन विवरण प्राप्त भैनसकेको प्रहरीले जनाएको छ ।पहिरोले बेनी–जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिका–३ गलेश्वर,अन्नपूर्ण गाउँपालिका–३ गुइठे,रुप्से र काभ्रे तथा घोप्टेभीरमा सडक अवरुद्ध भएको छ ।

त्यस्तै,बेनी–बागलुङ सडकको बेनी नगरपालिका–१, रानीबन,बेनी–दरवाङ सडकको बेनी नगरपालिका–४, घुमाउने भीरमा सडक अबरुध्द हुँदा सवारी सञ्चालनमा आउन नसकेको इन्सपेक्टर गुरुङले बताउनुभयो ।

टिप्पणीहरू