हेरियोस् यो पक्षलाई पनि
हालै सम्पन्न दुई चरणको स्थानीय तह निर्वाचनले आगामी माघभित्र सम्पन्न हुनुपर्ने संसदीय र प्रदेशसभाको चुनावमा कुन पार्टीलाई कस्तो नतिजा हासिल होला भन्ने अनुमानलाई सहज बनाएको छ । यसलाई त्यो चुनावको मिनी जनमत संग्रहका रुपमा पनि लिन सकिन्छ । हालसम्म सम्पन्न ६ वटा प्रदेशको एकमुष्ट हिसाब गर्दा एमाले पहिलो पार्टी बनेको छ । ०५१ बाहेक ०४८ देखि ०७० सम्म आइपुग्दा एमाले दोस्रो नै थियो । अहिले के कुरा सहज आंकलन गर्न सकिन्छ भने यदि दलभित्रको आन्तरिक गुटबन्दी मिलाउन सक्यो भने एमालेले सहजै बहुमत हासिल गरेर सरकार चलाउने अवसर हात पार्न सक्ने रहेछ ।
एमालेको संगठन मजबुत भएकैले ०५१ सालदेखि लगातार प्रतिशत बढाउन सफल भएको हुनुपर्छ । हाल चुनाव हुन बाँकी प्रदेश नम्बर २ मा पनि उसको प्रभाव राम्रै छ । किन पनि यसो भयो भने ०६३ को मधेस आन्दोलन र त्यसपछि कांग्रेस पृष्ठभूमिका अधिकांश मधेसी नेता क्षेत्रीयतावादी दलतर्फ लागे । प्रदेश नम्बर २ मा रहेका थारू, दलित र पहाडे समुदायका मान्छेहरु भने खासै हलचल भएनन् ।
मधेसका २० जिल्लाको तुलना गर्ने हो भने ११६ सिटमध्ये ४० वटा पहाडे समुदाय बहुल क्षेत्रमा पर्छन् । जसमा झापा, मोरङ, सुनसरी पर्ने नै भए । धनुषाको ढल्केबर बेल्टबाट एमालेले जितेको छ । महोत्तरीको बर्दिवासबाट माओवादीका गिरिराजमणिले जितेका छन् । सर्लाहीबाटै झलनाथ खनाल थोरै मतले मात्र पछि परेका हुन् । सिरहाबाट प्रचण्ड उठेकै हुन् । रौतहटको चन्द्रनिगाहपुर, सर्लाहीको हरिवन, बाराको निजगढसहित पर्साबाट कम्युनिष्टहरुले जितेको रेकर्ड छ । तमलोपाले पूर्वी नेपालमा बाजी मारेको हैन । नारायणीपश्चिम, कपिलवस्तु र रुपन्देहीबाट मात्र हो उसले जितेको । यसरी जित्ने ब्रिजेशकुमार गुप्ता, कमलेश पुरी र सर्वेन्द्रनाथ शुक्लाले जितेका हुन् । अहिले स्थानीय तहमा यी तीन जनाले आफ्नो पार्टीको लाइनविपरीत स्वतन्त्र उम्मेदवार उठाएका छन् । अब यिनीहरुमाथि राजपाले अनुशासनको नाममा कारबाही गर्ला कि आँखा चिम्लेला ? जबकि राजेन्द्र महतोलगायतले असोजमा हुने चुनावमा भाग लिने मनस्थिति बनाइसकेका छन् । यस्तोमा यिनीहरुमाथि कारबाही गर्दा के होला ? कस्तो नतिजा आउला ?
यता तीनबुँदे सहमति गरेको र उनीहरुको मत लिएर प्रधानमन्त्री पनि बनेको हुँदा देउवा र प्रचण्डको बाध्यता नै हो, उनीहरुका माग सुनुवाइ गर्नु र चुनावमा आउने वातावरण निर्माण गरिदिनु । तर यसरी स्थानीय चुनावमा जनताले शानदार मत दिएर जिताइसकेपछि सिंगो देशको जिम्मेवार पार्टी बन्न एमालेले पनि सकेसम्म लचिलो बन्नु बेस हुन्छ । आखिर २ नम्बर प्रदेशका जनतालाई पनि विकास चाहिएको छ । त्यहाँ पनि एमालेले जनताबीच घुलमिल भएर काम गर्नु नै छ । आफूविरुद्ध लागेको मधेसविरोधी भन्ने आरोपको खण्डन गर्नु छ । बरु कांग्रेस–माओवादी अल्मलिएका हुन् भने एमाले आफैंले पहलकदमी लिएर अघि बढ्नु झन् उत्तम हुनेछ । किनभने बेला घर्किसकेपछि आफू अप्ठेरोको फेला परिने खतरा पाइलापाइलामा विद्यमान रहन्छ ।
– उमेश दाहालबाट
टिप्पणीहरू