पिआरको प्रलोभनमा कैयन किशोरीको प्रेम बर्बाद

पिआरको प्रलोभनमा कैयन किशोरीको प्रेम बर्बाद

अनुश्री अध्ययनलाई निरन्तरता दिइरहेकी थिइन् । जीवन राम्रै चलिरहेको थियो । अचानक जीवनमा ठूलो बाढी आयो । एकदिन फेसबुकमा एक अपरिचित पुरुष निर्भयको फ्रेन्ड रिक्वेस्ट आउँदा, उनी एकछिन दोधारमा परिन् । रिक्वेस्ट स्वीकार्ने कि नकार्ने ? त्यसदिन रिक्वेस्टलाई अक्सेप्ट गरिनन् । झण्डै ३ दिनसम्म चुपचाप बसेपछि उनलाई म्यासेज आयो, ‘प्लिज अक्सेप्ट माइ रिक्वेस्ट’ । अनि रिप्लाई दिइन्, ‘आइ डोन्ट नो यु, डु यु नो मी ?’ अनि उताबाट रिप्लाई आयो, ‘फस्र्ट अक्सेप्ट इट देन आइ विल टेल यु’ यति भनेपछि उनले रिक्वेस्ट अक्सेप्ट गरिन् । अनि वार्तालाप शुरु भयो ।

शुरुमा सामान्य कुराकानी । कताबाट हो, के गर्दै हो, कुन लेभलमा पढ्ने हो भनेर औपचारिकतातर्फ मोडियो । एक–अर्काको परिचयपछि सम्बन्ध झांगिँदै गयो । जति जति कुरा भयो, उति उति एक–अर्काको बारेमा डिटेल खुल्दै गयो । फेसबुकमा दुवैजना यतिसम्म बात मार्थे कि– के तरकारी खाए, कस्तो थियो, कति कप चिया र कफी पिए ? बिहान उठेदेखी बेलुका नसुतुन्जेलसम्मका सबै क्रियाकलाप साँट्थे । यसरी कुराकानी बाक्लिँदै गएपछि दुवै एकछिन पनि टाढा बस्न नसक्ने भए ।

एक रातको कुरा हो । निर्भयले अनायासै भन्यो, ‘तिमीलाई एउटा बहुत महत्वपूर्ण कुरा भन्नु छ । प्लिज छिट्टै अनलाइन आऊ न !’ अनुश्री आत्तिएर घरको सब काम छोडी अनलाइन आइन् । केही भयो कि भनेर अनुश्री डराइन् । यत्तिकैमा निर्भयले म्यासेज ग¥यो, ‘अनुश्री, तिमी नडराऊ, कुल भएर बस । म सब कुरा बताउँछु ।’ अघिसम्म असिनपसिन भएकी अनुश्री शान्त हुन्छिन् । त्यसपछि अनुश्रीलाई निर्भयले बताउन थाल्छ– ‘म अष्ट्रेलियामा बस्छु, यता बसेको निकै वर्ष भइसक्यो । अब पिआर पाउने तयारीमा छु । एउटा भरपर्दो जीवनसाथी खोजिरहेको छु । जुन तमाम गुण तिमीमा पाएँ । म तिमीलाई आफ्नो जीवनसाथी बनाउन चाहन्छु ।’

सबै कुरा सुनिसकेपछि अनुश्री झसंग भइन् । किनकि यसअघि निर्भयले ऊ आफू नेपालको मध्यपहाडी क्षेत्रमा रहेको र एउटा प्रोजेक्टमा काम गर्दै गरेको बताएको थियो । अनुश्रीले निर्भयलाई प्रश्न गरिन्, ‘तिमीले किन मलाई झूठो परिचय दियौ ? यसअघि नै सब कुरा किन भनेनौ ? नाइँ म तिम्रो कुरा, पत्याउँदिन । यो सब झुटो हो ।’ निर्भय अनुश्रीलाई फकाउँछ । भन्छ, ‘त्यस्तो नसोच, मैले तिम्रो मनको कुरा थाहा पाउन, भिजन बुझ्नका लागि मेरो ठेगाना र काम झुटो बताएको हुँ । मैले मिल्ने संगिनी खोजिरहेको थिए ।

साथीले तिम्रो प्रोफाइल फेला पारेर मलाई दियो र मैले रिसर्च गर्दा तिमी मेरा लागि ठीक रहिछौ भन्ने लाग्यो । त्यसपछि तिमीलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ । जब तिमीसँग कुरा गर्दै गएँ, बुझ्दै गएँ, तिमी झन् झन् मेरी हुन थाल्यौ । अब त लाग्छ कि– तिमी मेरै लागि बनेकी हौँ, बरु ज्यान जाला तिमीलाई छोड्ने छैन ।’

निर्भयले यसरी बेलिबिस्तार लगाएपछि अनुश्री एकछिन गहिरो सोचमा डुबिन् । निर्भयको कुनै जवाफ दिइनन् । निकै बेरसम्म जवाफविहिन भएपछि निर्भयले ‘प्लिज, प्लिज’ गरेर बोलाउन थाल्यो । केही बेरको मौनतापछि अनुश्री निर्भयसँग प्रश्न गर्न थालिन्, ‘तिमी साँच्चै अष्ट्रेलियामै बस्ने हो त ? ल मलाई अष्ट्रेलियाको नम्बरबाट कल गर त ?’ अनुश्रीले आफ्नो व्यक्तिगत नम्बर दिएको केही छिनमै निर्भयले अष्ट्रेलियाको नम्बरबाट कल गर्छ । अष्ट्रेलियाको कोड आएपछि अनुश्रीलाई पूरा विश्वास हुन्छ कि निर्भय साँच्चै अष्ट्रेलियामा रहेछ । अनुश्री ढुक्क हुन्छिन् साँचो ठेगाना पाएर ।

निर्भयसँग छुट्टिएपछि अनुश्रीलाई रातभरि निन्द्रा पर्दैन किनकि अनुश्रीसँग इमान्दार प्रेमी छ । जो कामको सिलसिलामा नेपालको विकट जिल्लामा गएको छ । मोबाइलको टावर कम टिप्ने भएकाले बेलाबेला मात्र दुईबीच संवाद हुन्छ । यही अवधिमा निर्भयसँग अनुश्री जोडिन पुगेकी हुन्छ । रातभरको छट्पटीपछि झिसमिसेमै उठेर घर नजिकैको चौरमा पुग्छे । ध्यानमग्न भएर के गर्ने भनी निर्णय लिन्छे । भविष्यको कुरा सम्झेर अन्तमा निर्भयकै प्रस्ताव स्विकारेर घर फर्किन्छे ।

खाना खाएर निर्भयलाई कल गर्छे । र, भन्छे–‘मेरो प्रेमी छ । जसले मलाई आफूलाई भन्दा धेरै माया गर्छ । ऊ अहिले कामको सिलसिलामा बाहिर छ । तिमीलाई त मैले साथीको रुपमा मात्र लिएको थिएँ तर हाम्रो मित्रताले अर्कै मोड लियो । हेर, मलाई यो निर्णय लिन धेरै गाह्रो प¥यो । तर यदि तिमी मलाई साँच्चिकै माया गर्छौ र बिहे गर्ने हो भने म तिम्रो प्रस्ताव स्विकार्न तयार छु । यदि जिस्किन मात्र खोजेको हो भने प्लिज आजैदेखि दुवै दूर बसौँ ।’

अनुश्रीको कुरा सुनिसकेपछि निर्भय भन्छ, ‘हरे, कस्तो सोचेको तिमीले, मैले त्यस्तो नि गर्छु होला त ? बरु प्राण नै जाओस्, तिम्रो साथ छोड्ने छैन । अब तिमी जुनीभर मेरो हो । तिम्रो प्रेमीसँग जे भयो सकियो, अब तिमी मात्र मेरी हौ । अरु कसैको हुनै सक्दिनौ । ’

निर्भयको कुरा सुनेपछि अनुश्री थप प्रश्न गर्छे–‘अब भन म के भनौँ मेरो प्रेमीलाई, के भनेर सम्बन्ध तोडौँ ?’ निर्भय जवाफ दिन्छ, ‘उसलाई सबैतिर ब्लक गरिदेऊ, खेल खत्तम । त्यसको टेन्सन नलेऊ ।’ अनुश्री मन कठोर पार्दै छ वर्षदेखि सच्चा माया गर्ने प्रेमीलाई सबैतिरबाट ब्लक गर्छिन् । पूर्वप्रेमीसँगको केही याद नआओस् भनेर सबै फोटो डिलिट गर्छिन् र नितान्त निर्भयको चोखो प्रेममा चुर्लुम्म हाम फाल्छिन् । अनि शुरु हुन्छ कथा ।

सच्चा प्रेमीलाई छाडेर अष्ट्रेलिया उड्ने सपना बुनेकी अनुश्रीको कथा हो यो । मनभित्र सपनाका ठुल्ठूला महलको चित्र बनाइसकेकी अनुश्री निर्भय नेपाल आउने पर्खाइमा रातदिन गन्छिन् । रातदिनको पर्खाइपछि निर्भय नेपाल आउँछ । एअरपोर्टमा लिन पुगेकी अनुश्रीलाई भेटेपछि निर्भयले अँगालोमा कस्छ । छुट्टिनुअघि दुवै जना नेपालका सबै ठाउँ घुम्ने, शुरुमा लुम्बिनी हुँदै, पोखरा, चितवन र अन्य ठाउँ घुम्ने योजना बन्छ । अन्त्यमा कोर्ट म्यारिज गर्ने अनि दुवै जना अष्ट्रेलिया उड्ने भनेर सपना देखाउँछ ।

यही योजनाअनुसार दुवै जना घुम्न निस्किन्छन् । नेपालका नाम चलेका अधिकांश ठाउँ घुम्छन् । यात्रामा दुवैले एकअर्काको तनमन साँट्छन् । सबै ठाउँ घुमेर फर्किएपछि अनुश्री चाँडोभन्दा चाँडो निर्भयसँग बिहे गरेर अष्ट्रेलिया जान हतारमा हुन्छिन् । अनुश्रीलाई निर्भयले हप्ता दिनपछि कोर्ट म्यारिज गर्ने बाचा गर्छ ।

यात्रामा खुट्टा निकै दुखेको हुनाले एक हप्ता पूर्णरुपमा आराम गर्न भनेर अनुश्रीसँग अनुमति माग्छ । अनुश्रीले पनि सहमति जनाउँछे । निर्भय एकछिन साथमा नहुँदा पानीविनाको माछाजस्तै छट्पटिने अनुश्री हप्तादिन पुगेपछि निर्भयलाई फोन गर्छे । तर, निर्भयको फोन स्विच अफ भन्छ । प्राविधिक गडबडी होला भनेर अनुश्री ट्राइ मार्छे । अन्ततः निर्भयको फोन लाग्दैन । ३ दिनसम्म पनि सम्पर्क नभएपछि लाग्यो कि निर्भयले धोका दियो ।

निर्भयको व्यक्तिगत विवरण थाहा भए पनि घरपरिवारबारे पूर्ण जानकारी नभएपछि अनुश्री भीरबाट खसेजस्तै भइन् । कहाँ जाने, कता खोज्ने ? सबै असम्भव थिए । त्यसपछि अनुश्रीका दिन/रात ओछ्यानमै बिते । आँशुहरू रित्तिए । अवस्था केही सामान्य बन्दै थिए । निर्भय सम्पर्कविहीन भएको एक महिनापछि एकाबिहानै अष्ट्रेलियाबाट अनुश्रीको मोबाइलमा कल आयो । अनुश्री उठाऊँ कि नउठाऊँ दोधारमा पर्छिन् । हिम्मत जुटाएर फोन उठाउँछिन् ।

फोनमा महिलाको कर्कश आवाज सुनिन्छ । ती महिला अनुश्रीलाई थर्काउन थाल्छिन्, ‘तिमी को हौ ? निर्भयसँगको सम्बन्ध के हो ? के के भयो ? सबै कुरा साँचो भन नत्र पुलिसलाई रिपोर्ट हाल्दिन्छु ।’ यस्तो डरलाग्दो धम्कि सुनेर अनुश्री एकछिन रनभुल्लमा पर्छिन् । र, फेरि साहस जुटाएर नडराई निर्धक्क निर्भयसँगको सम्बन्ध बताउँछिन्, ‘निर्भय र मेरो सम्बन्धबारे सोध्ने तपाईं को हो ?’ बिरालोले मुसालाई झम्टिएझैँ ती महिला झम्टिन्छिन् । अन्तमा ती महिलाले आफू निर्भयको श्रीमती भएको, निर्भयले यी सब कुकर्म गरेको बताउँछिन् । यी सबै कुरा सुनेपछि अनुश्री जिउँदै मरेतुल्य हुन्छे र भन्छे–‘अब म के गरुँ ? मेरो पेटमा निर्भयको बच्चा छ, मलाई निर्भयले दिएको चोट कसरी भुलौँ, यो बच्चाको बाउ कसलाई बनाऔँ ?’ अनुश्रीका यी प्रश्न सुनेपछि ती महिला एकछिन भावुक हुन्छिन् र केही नबोली फोन काट्छिन् ।

त्यसपछि अनुश्रीले पटक पटक त्यस नम्बरमा फोन गरे पनि फोन लागेन । यो घटना घटेपछि अनुश्री छिनमै ढल्ने, छिनमै उठ्ने गर्छिन् । तैपनि, फेरि हिम्मत जुटाएर तंग्रिएकी छ । समाजमा शीर ठाडो पारेर हिँड्न असमर्थ अनुश्री अहिले सबै महिलालाई सचेत रहन सुझाव दिन्छिन् । ग्रिन कार्ड, पिआरको लोभमा नपर्न र पढाइ, लेखाइ र काममा जोड दिन भन्छिन् । अष्ट्रेलियन पिआरधारीको प्रलोभनमा परेर आफूलाई असाध्यै माया गर्ने ईमान्दार प्रेमीलाई गुमाएकोमा अनुश्री औधी पछुतो मान्छिन् । तर, डाँडाको घाम निकै पर पुगिसकेको उनलाई थाहा छ ।

– पवित्रा घिमिरे

टिप्पणीहरू