जातको प्रश्न अब असोजमा

जातको प्रश्न अब असोजमा

समता फाउण्डेशनले शुरु गरेको जातको प्रश्नको दोस्रो सिजन असोज २२ गतेदेखि शुरु हुने भएको छ । फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जातजातीले संवाद गर्नुपर्ने बताउँदै दोस्रो सिजनको शुभारम्भ गर्न लागेको हो ।

कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताउनुभयो । ‘जातीय विभेद हाम्रो समाजमा जुन हिसाबले भइरहेको छ, यसको प्रत्यक्ष भुक्तभोगी म आफैँ नभए तापनि मैले मेरा वरपरका आफन्तहरुलाई देखेको छु ।

जातीय समस्या हाम्रो समाज र मनमस्तिष्कमा गढेको विषयवस्तु रहेछ । हामीले जति राम्रो संविधान बनाए पनि व्यवहारमा उतार्न भयंकर ठूलो चुनौति रहेछ’, हमालले भन्नुभयो ।

कार्यक्रममा अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताउनुभयो । भन्नुभयो, ‘हाम्रो समाजमा जातको आधारमा गरिने विभेद एउटा समुदायको मात्रै चासोको विषय होइन, जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै सबैभन्दा ठूलो समस्या हो, म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ, मैले पनि विभेदका कुराहरु भोगेको छु ।’

जातको प्रश्नको दोस्रो सिजन महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले सञ्चालन गर्ने बताइएको छ ।

शान्ता नेपालीको निर्देशनमा बन्ने १२ अंकको दोस्रो सिजनमा नेपालका दलितहरुले भोगिरहेको जीवनको यथार्थ र अनुभवका कुराहरु समेटिने आयोजकले बताएको छ ।

टिप्पणीहरू