पहिले अनिकाल,अहिले फालाफाल
सरकार परिवर्तनपछि गण्डकी प्रदेशका संसदीय समितिहरुमा पनि फेरबदल आउने भएको छ । सरकार बदलिएसँगै दुई वटा समितिको नेतृत्वमा परिवर्तन आउन लागेको हो ।
हाल मुख्य विपक्षी बेञ्चमा रहेको प्रदेशकै ठूलो दल नेकपा एमालेले अब प्रदेश संसदमा सार्वजनिक लेखा समितिको प्रमुख पाउने भएको छ । सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले विधायन समितिको सभापतित्व गर्ने बताइन्छ । सामान्यतयाः लेखा समितिमा प्रमुख प्रतिपक्ष र विधायन समितिमा सत्तापक्षका सांसदको नेतृत्व रहने चलन छ ।
गण्डकी प्रदेशका एक जना एमाले सांसदले दिएको जानकारीअनुसार नवलपुरका सांसद रोशन गाहा मगर प्रदेश लेखा समितिको सभापति बन्ने पक्का भएको हो ।
यसअघि आफ्नै पार्टीको बहुमत सरकारमा पटक पटक मन्त्री बन्ने भनेर नाम चर्चामा आए पनि गाहालाई मन्त्री बनाइएको थिएन । अब भने त्यसको भरपुर्ताल गर्दै सार्वजनिक लेखा समितिको सभापति बनाइने पक्का भएको ती सांसदले जानकारी दिएका छन् ।
सांसद गाहा एमाले उपाध्यक्ष भीम रावल र नेता सुरेन्द्र पाण्डेको छनोटमा केन्द्रीय सदस्यको निम्ति सिफारिसमा परेका छन् । कुनै समय मन्त्रीको चर्चामा रहेर पनि केही अवसर नपाएका गाहाले यस पटक भने एकै पटक दुई वटा पद र जिम्मेवारी पाउने पक्कापक्की भएको हो ।
यसअघि लेखा समितिको सभापतिमा काँग्रेसका कुमार खड्का थिए । हाल खड्का गण्डकी प्रदेश सरकारको प्रवक्ता छन् । विधायन समितिको सभापति भने नेपाली काँग्रेसका सांसद विष्णु लामिछानेलाई दिइने बुझिएको छ ।
टिप्पणीहरू