माधव नेपाल अराजकहरुको मूली रहेको विष्णु पौडेलको आरोप

माधव नेपाल अराजकहरुको मूली रहेको विष्णु पौडेलको आरोप

आज रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अराजकहरुको नेता भन्नुभएको छ । भेलामा नेपालप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएका पौडेलले माधव नेपाल विचारविहीन भएको र अराजकहरुको मूली बनेको आरोप लगाउनुभएको छ ।

उपमहासचिव पौडेलले दक्षिणपन्थीको पिछलग्गु भएर वाम एकताको नाटक नगर्न माधव नेपाललाई चेतावनीसमेत दिनुभएको छ । देउवाको चरणमा दल विभाजनको बिन्ती चढाउने माधव नेपालले दक्षिणपन्थीको चाकरी गरेको पौडेलको ठहर छ ।

भेलालाई सम्बोधन गर्ने क्रममा उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीहरुप्रति आक्रामक देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘जसरी पनि सरकारमा जाने दाहाल र नेपालको कुचिन्तनका कारण आजको अवस्था आयो ।’

समसामयिक राजनीतिको विश्लेषण गर्दै उहाँले संसद तत्काल विघटन हुन सक्नेतर्फ संकेत गर्नुभएको छ । देउवा नेतृत्वको सरकारलाई टालाटुली सरकारको संज्ञा दिँदै उहाँले आगामी स्थानीय निर्वाचन र आमनिर्वाचनपछि एमालेको सरकारले सबैलाई विस्थापन गर्ने दाबीसमेत गर्नुभएको छ ।

उहाँले सभामुख अग्निप्रसाद सापपकोटाप्रति पनि कटाक्ष गर्नुभएको छ । सापकोटा समग्र सदनको नेता नभएर माओवादीको नेता बनेको एमाले उपमहासचिवले भन्नुभयो । ‘सभामुखको नालायकीका कारण देश बजेटविहीन बन्यो,’ उहाँको निश्कर्ष छ ।

सोही कार्यक्रममा बोल्दै सचिव प्रदीप ज्ञवालीले माधवकुमार नेपाल दलालहरुको दलदलमा फसेको आरोप लगाउनुभएको छ ।

त्यसैगरी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अहिलेको सरकारलाई सीमापार र समुद्रपारको डिजाइनमा परमादेशबाट बनेको संज्ञा दिनुभएको छ । उहाँले भन्नुभयो, ‘माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपाल शेरबहादुर देउवाको पुच्छर भए ।’ देउवाको पुच्छर भएकाले अब प्रचण्डले झिँगा पनि धपाउन नसक्ने उहाँको ठहर छ ।

टिप्पणीहरू