५० लाख जनतालाई २ हजार खसीबोका
दशैं र तिहारलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा खसिबोका भित्र्याउने तयारी गरिएको छ । सरकारको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उक्त कार्य गर्न लागेको हो । दशैंमा मासुको माग बढी हुने भएकाले कम्पनीले पहिले नै खसीबोका खरिदको टेण्डर आह्वान गरेको हो ।
कोरोना महामारीले सम्पूर्ण बजारलाई नै अस्तव्यस्त बनाएको र त्यसलाई ध्यानमा राख्दै उपत्यकामा खसीबोका भित्र्याइन लागेको बताइएको छ । कम्पनीले यो वर्ष खसीबोका कम नहुने प्रतिबद्धता जनाएको छ । त्यसको आधारमा खरिद प्रक्रिया अघि बढिसकेको उसको दाबी छ ।
यो वर्ष ५० हजार खसीबोका उपत्यका भित्र्याइने भए पनि आफूले जम्मा दुई हजार बिक्रीवितरण गर्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताउनुभएको छ । एक हजार च्याङ्ग्रा ल्याउन कम्पनीले कार्य शुरु गरिसकेको र उपल्लो मुस्ताङमा यो वर्ष च्याङ्ग्रा उत्पादन कम भएकाले विगतमा झैँ पर्याप्त नहुने जानकारी दिइएको छ ।
कम्पनीले तुल्सीपुर, वीरगञ्ज र हेटौँडाबाट दुई हजार खसीबोका ल्याउने तयारी गरेको हो । प्रायः घटस्थापनाको अघिल्लो दिन काठमाडौंमा खसी–बोका ल्याउने गरिन्छ ।
ढुवानी लागतको आधारमा मूल्य निर्धारण गर्नुपर्ने भएकाले अहिले नै खसीबोकाको मूल्य अनुमान गर्न नसकिने न्यौपानेले बताउनुभयो । ‘घटस्थापनाको दुई दिन अघि मूल्य तोक्छौं, सहुलियत मूल्यमा पनि प्रति किलोग्राम १० रुपैयाँ छुटमा बिक्री गर्ने योजना बनाएका छौं,’ कम्पनीले दिएको जानकारीमा उल्लेख छ ।
टिप्पणीहरू