भारतीय कूटनीतिक कर्मचारी गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रमा
अस्ति दिउँसो अकस्मात काठमाडौँ उत्रिएका भारतीय विदेश मन्त्रालयका निवर्तमान प्रवक्ता तथा नेपाल-भुटान डेस्क हेर्ने संयुक्त सचिव अनुराग श्रीवास्तवको सम्मानमा लैनचौरस्थित भारतीय दूतावासले आज रात्रिभोजको कार्यक्रम राखेकाे छ ।
हिजो एमाले अध्यक्ष केपी ओलीका अत्यन्त निकट गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे-२ का २० करोडको लागतमा पुनर्निमित छ वटा बिद्यालयको उद्घाटन गरेका र तीन सदस्यीय टोलीको नेतृत्व गर्दै चार दिने नेपाल भ्रमणमा आएका श्रीवास्तवको सम्मानमा दूतावासका कार्यवाहक राजदूत नाम्ग्या छोदेन खम्पाले आज रात्रिभोज आयोजना गर्नुभएको छ ।
श्रीवास्तव भारतीय विदेश मन्त्रालयको नेपाल र भूटान डेस्क हेर्ने प्रमुख हुन् । नेपाल भ्रमणको निम्ति आएको बताइए पनि भ्रमणको विस्तृत विवरण र टोली सदस्यबारे भने केही पनि खुलाइएको छैन । उनीहरुले प्रधानमन्त्री,उर्जामन्त्री,दलका नेतालगायतलाई भेटघाट गर्ने कार्यक्रम रहेको जानकार स्रोतले बताएको छ ।
भारतीय राजदूत विनयमोहन क्वात्रा एक महिनादेखि नेपाल बाहिर छन् । यस्तो अवस्थामा श्रीवास्तवको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । कतिपयले भने देउवा सरकारले भारतसँग सम्बन्ध सुधारको प्रयास गरेको अर्थसमेत लगाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच गठवन्धन गराउने भारतीय प्रयासका बाबजुद प्रधानमन्त्री बनेका देउवासँग मोदी सरकार नाखुस रहेको विश्लेषण गर्नेहरु पनि छन् ।
ओली-ठाकुर गठवन्धन बनाउन भारतीय दूतावास निकै सक्रिय रहेको थियो । त्यतिबेला ठाकुर र राजेन्द्र महतोको लैनचौरदेखि बालुवाटार हुँदै शीतल निवाससम्मको उठबस अचाक्ली बाक्लिएको थियो ।
तत्कालीन विपक्षी गठवन्धनका रुपमा पाँच पूर्व प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा वैदेशिक हस्तक्षेपको विषय उठेकोमा समेत भारत देउवाप्रति सकारात्मक नरहेको बताउनेहरु पनि छन् ।
यहि अवस्थाका बीच भारतले कहिले बिजेपी बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेलाई नेपाल पठाएर प्रधानमन्त्री पत्नीसङ्ग राखी बाँधी सम्बन्ध सुधारको प्रयास गरिरहेको त कहिले ओलीनिकट पूर्व मन्त्रीको निर्वाचन क्षेत्र छानिछानी पैसा खन्याइरहेको अवस्था छ ।
उता,संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन अमेरिका पुग्नुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस.जयशंकरबीचको भेटघाटले श्रीवास्तवको नेपाल भ्रमण सम्भव बनाएको पनि बताइन्छ ।
टिप्पणीहरू