​श्रीमती र प्रेमिकाले त्यहाँ पनि पाएका छन्

  • रानी शर्मा, राजपा वरिष्ठ उपाध्यक्ष, प्रदेश २ की सांसद

बोलाइँदा ‘रानी शर्मा’ भनिए पनि रानीकुमारी तिवारी हो, औपचारिक नाम । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागमा कर्मचारी थिइन् । तर, राजनीतिमा लागेको नशाले जागिर छोड्ने अवस्थामा पु¥यायो ।  ०७० कै संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । तर, छानिनेमा परिनन् । यसपटक प्रतिनिधिसभामा महन्थ ठाकुरले जितेको महोत्तरी क्षेत्र नं. ३ को प्रदेशसभा २ मा बाट ७ हजार ४ सय ३० मतका साथ जित हासिल गरिन् । काठमाडौंमै हुर्किएकी र पढेकी उनी तराई–मधेस राजनीतिको गर्मागर्मी शुरु भएपछि पुख्र्यौली जिल्ला महोत्तरीलाई केन्द्र बनाएर सक्रिय रहँदै आइन् । 

० राजपाले आश गरेजस्तो परिणाम ल्यायो कि थोरै ?

– राजपामा मधेसको हितमा काम गर्ने दुई–चार जना मात्रै छन् भन्ने प्रश्नले जनता पिरोलिएका थिए । निर्वाचन परिणामले मधेसीको हितमा काम गर्ने नेता थुपै्र रहेछन् भन्ने सावित भएको छ । 

० पार्टीभित्र टिकट बाँडफाँड र उम्मेदवारी चयनमा न्याय नभएको कुरा सुनियो । खास के हो ?

– राजपाभित्र त सामान्य नै हो । एमाले, माओवादी र कांग्रेसभित्र त यो भन्दा बेसी बबण्डर छ । त्यसैले गाइँगुइँ चल्नु स्वाभाविकै ठान्छु । सबै उम्मेदवारलाई ‘मेन्टेन’ गर्दा अलिकति असन्तुष्टि स्वभाविक पनि हो । बाहिरी विभिन्न तŒवको संलग्नताले पनि यसलाई असर परेको छ । अहिले यो विषयको छानविन पनि भइरहेको छ, समिति नै गठन गरेर । 

० श्रीमती, प्रेमिकालाई टिकट बाँड्ने चलन थियो । अहिले नातेदारलाई दिइएको छ । के यसरी मधेसको मुद्दा समाधान  हुन्छ ?

– हामीभन्दा ठूला दलमा त झनै किचलो छ । त्यहाँ पनि श्रीमती र प्रेमिकाले टिकट पाएका छन् । तर, राजपामा सीट संख्या थोरै भएकोले धेरै महिलाले टिकट पाएको देखियो । अन्य पार्टीमा पनि महिलालाई टिकट दिलाउने सिस्टम त यस्तै हो नि † मुख्य समस्याचाहिँ कहाँनिर हो भने, समानुपातिकले विकृति फैलायो । आरक्षणका लागि भनिएपनि त्यो लागु हुन सकेको छैन । हरेक पार्टीभित्र महिलाकर्मीहरूको गुनासा छन् । अब यसको समाधान हुन जरुरी छ । त्यो नभएसम्म यो विकृतिको उन्मुलन हुन सक्दैन । 

० समाधान कसरी होला त ?

– जसरी हुन्छ ‘क्लस्टर’ मिलाउनुपर्छ । जहाँ पायो र जसलाई मन प¥यो उसलाई हावाका भरमा टिकट वितरण गर्ने क्रम रोकिनैपर्छ । पार्टीप्रतिको योगदान र क्षमता नै नहेरी हचुवाका भरमा टिकट दिनाले यस्तो विकृतिले सीमा नाघिसकेको छ । तर, पछिल्लो समय निर्वाचन आयोगले अलि कडाइ गरेपछि यो विकृति अलिकति घटेको हो कि भन्ने लागेको छ । यद्यपि, आरक्षण नभई समानुपातिक सीटमात्रै महिलाले पाएका छन् । 

० पार्टीको संगठन नै नभएको स्याङ्जाबाट नरमाया ढकालको नाम कसरी आयो ?

– निर्वाचन आयोगले प्रत्येक जातिको क्लस्टर मिलाउनुपर्ने जुन प्रावधान ल्याएको छ, त्यसभित्र नरमाया दिदी पनि पर्नुभएको हो । त्यसैले यो विषयमा त्यति ठूलो विवाद मच्चिएको होइन, केही कार्यकर्ताका गुनासा आएका हुन् । मधेसी कोटाअन्र्तगत मात्रै उम्मेद्वार चयन गर्नुपर्छ भन्ने छैन र त्यो न्यायसंगत पनि हुँदैन । 

० प्राविधिक रूपमा राजपा र फोरम राष्ट्रिय दल, तर उपस्थितिका हिसाबले क्षेत्रीय दलकै रूपमा रहे हैन ? 

– जुन दललाई राष्ट्रिय भनिएको छ, त्यो कुरा म मान्न सक्दिनँ । स्थानीय तहको चुनावमा राजपा सहभागी भएन र हामी दुई नम्बर प्रदेशमा मात्रै सहभागी भयौँ । निर्वाचनमा भाग लिएर, जितेर आएको दललाई मात्रै राष्ट्रिय पार्टी मान्नुपर्छ भन्ने हो र ! देशभरको मुद्दा उठाउने पार्टी नै राष्ट्रिय पार्टी हो ।

० स्थानीय निर्वाचनमा भाग नलिनु नै गल्ती हो ?

– त्यो हाम्रो कमजोरी होइन । समय र परिस्थितिअनुसार सञ्चालित भइरहेका थियौँ । मधेसको मुद्दा समाधान हुने छाँटकाँट देखिएको भए चुनावमा भाग लिन्थ्यौँ होला । तर, त्यो वातावरण सिर्जना भएन । यसकारण निर्वाचनमै भाग नलिनाले पछुतोचाहिँ भएको होइन । 

० मधेसमा दुई धार देखिएको छ । यसबारेमा तपाईंको धारणा कस्तो छ ?

– हामी कसैले मधेसी दुई टुक्रा हुनुपर्छ र, मधेस अलग हुनुपर्छ कहिल्यै पनि भनेका छैनौँ । नचाहिँदो कुरा सुनेर समय खेर फाल्न हामीसँग समय छैन ।

० अनुराधा कोइरालाको नागरिकताको विषयमा उठेको कुरालाई के भन्नुहुन्छ ?

– सात प्रदेशमध्ये बल्ल–तल्ल एउटा महिला प्रदेश प्रमुख बनेको छ । उहाँकै विषयमा बाहिर सामाजिक सञ्जालमा नानाथरी कुरा उठिरहनु राम्रो मानिँदैन । ०५० सालमा नागरिकता बनाउनुभयो, ४६ वर्षको उमेरमा भन्ने कुरा अलिक असान्दर्भिकजस्तो लाग्छ । अलि नमिल्दा पनि हुन् कि जस्तो पनि देखिन्छ । तर, मलाई–सही गलत छुट्याउन गाह्रो छ । राज्यले सत्यतथ्य छानबिन गरेर जनतामाझ प्रस्ट गर्नुपर्छ । म पनि नेत्री नै हुँ । नत्र यसले अन्य महिलालाई समस्या उत्पन्न गराउने निश्चित छ ।

० अंगीकृत भन्ने विषय मधेसीका लागि मात्र हैन भन्ने त बुझ्नुभयो होला नि † 

– हिजोका सन्दर्भका कुरा सही नै हुन् । विदेशबाट विवाह गरेर यहाँ भित्रिएपछि सबैले अंगीकृत नागरिकता लिएकै हुन् । अहिले पनि केही मात्रामा होलान् । यही विषयले फेरि मधेसमा अर्काे आन्दोलन चर्किन सक्छ । यस सन्दर्भमा ‘उसले नै यसो गरेपछि मैले किन गर्न नमिल्ने’ भन्ने प्रश्नहरू पेचिलो बन्ने देखिन्छ । 

दुई नम्बरकै सवालमा भन्ने हो भने त्यहाँका अंगीकृत महिलाले पनि प्रमुखमा दावेदारी दिन सक्छन् । तर, अंगीकृतधारी महिला वा पुरुष त्यो
पदमा जान नपाउने प्रावधान छ । हिजो अंगीकृतधारीलाई राज्यको ८ उच्च स्थानमा जान नपाउने जुन प्रावधान थियो, त्यो हामीले मान्दै आएका छौँ !

० ३ मा जस्तै २ मा पनि महिलालाई प्रदेश प्रमुख बनाउन खोजिँदा पाइएन रे हो ?

– पुरुष प्रधान देशमा पुरुषभन्दा महिलाको संख्या बढी छ । तर, यहाँ पुरुषले मात्र स्थान पाइरहेका छन् । महिलाहरू कान्लामुनि नै छन् । स्थानीय तहको तथ्यांक हेरियो भने  औँलामा गन्न मिल्ने महिलाले टिकट पाएका छन् । प्रधानन्यायाधीश महिलाले चलाएर देखाउनुभयो, राष्ट्रपति पनि महिला नै हुनुहुन्छ ।

० महिलाले अवसर पाउने कुरामा राजनीतिक दलहरू नै बाधक बनिरहेको हो ?

– समयचाहिँ कुर्नु नै पर्ने हुन्छ । पहिले केहीले टिकट पाएका थिए, तर अहिले त्यो अवस्थामा केही उत्तार–चढाव आएको देखिन्छ । बराबर टिकट बाँडफाँड गर्ने नियम भनिए पनि त्यो लागू हुन तत्काल सम्भव देखिँदैन । संविधानले त्यो सम्भव बनाउँदै छ । मैले पनि पुरुषझैँ प्रत्यक्ष जितेर आएकी हुँ ।

० तपार्इंलाई समानुपातिक उम्मेदवार बन्न रुची नहुनुको कारण के हो ?

– प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारको क्षमता नै बेग्लै हुन्छ । प्रत्यक्षले जनताको घर दैलोमा पुगेर समस्या देखेको हुन्छ । तर, समानुपातिकले त्यो संघर्षको यात्रा पार गर्नुपर्दैन । मैले प्रत्यक्ष लडेर जवाफ दिनु थियो कि, महिलाले के गर्न सक्दैनन् ?

० काठमाडौँमा हुर्किनु भयो, तर राजनीति गर्न तराई झर्नुभयो हैन ?

– त्यहाँ गएर नपढेको भए आज यहाँको समस्या कसले उठान गथ्र्यो ? जतिखेर राजनीतिमा थिइनँ, त्यतिबेला काठमाडौंमा थिएँ । जब राजनीतिमा आएँ, त्यसपछि मधेस झरेँ । अहिलेसम्म छु । र, सधैँ यही मुद्दा लिएर मधेसमै हुनेछु । यही मुद्दाका लागि सरकारी जागिर पनि छाडेको छु । 

० आन्दोलनमा उठाइएको संविधान संशोधनको विषयका लागि वाम गठबन्धनको सरकारसँग सहकार्य हुन्छ ?

– मधेसको मुद्दालाई जसले सकारात्मक रूपमा लिन्छ र समाधान गर्छ, हाम्रो निकटता, सहकार्य त्यही शक्तिसँग हुन्छ ।

० बन्न लागेको वाम सरकारबाट कत्तिको आशावादी हुनुहुन्छ ? 

– कांग्रेस र एमाले दुबै उस्तै–उस्तै हुन् । उनीहरूसँग दुस्मनझैँ सम्बन्ध छ । हिजो कांग्रेसले केही पनि लछारपाटो लगाएन ।

० प्रदेश सरकारमा तपाईंको भूमिका कस्तो हुन्छ ?

– मुख्यमन्त्रीदेखि मन्त्रीसम्म, सभामुखदेखि सभासद्सम्म, जस्तो पनि । 

टिप्पणीहरू