सरकारमा न्यायालयलाई भाग छुट्टयाएको भन्नु गलत : प्रचण्ड

सरकारमा न्यायालयलाई भाग छुट्टयाएको भन्नु गलत : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशको कोटाबाट कसैलाई पनि मन्त्री नबनाइएको दाबी गर्नुभएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको भागबण्डामा गजेन्द्र हमाललाई मन्त्री बनाइएको चर्चा भैरहेका बेला प्रचण्डले यस्तो बताउनुभएको हो । काँग्रेसको कोटाबाट हमाललाई मन्त्री बनाइएको भन्दै क्याबिनेट विस्तारमा न्यायालयलाई जोड्नुको कुनै तुक नरहेको उहाँको भनाइ छ ।

आज गृहजिल्ला चितवन पुग्नुभएका प्रचण्डले सञ्चारकर्मीसंग कुरा गर्दै हमाल काँग्रेसको कोटाबाट मन्त्री बनेकाले बाहिर गरिएका चर्चाको कुनै अर्थ नहुने पनि बताउनुभयो । काँग्रेसको सभापति भैसकेको व्यक्ति मन्त्री हुँदा अनावश्यक चर्चा गरेर न्यायालयलाई विवादमा तान्नु गलत हुने प्रचण्डको भनाइ छ ।

विगतमा पनि गैरसांसद मन्त्री बनेको स्मरण गर्दै उहाँले ६ महिनाभित्र सांसद हुने संवैधानिक व्यवस्था रहेको बताउनुभयो । ‘विगतमा पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ, यो नयाँ कुरा होइन’,उहाँले भन्नुभयो ।

हिजो भएको मन्त्रिपरिषद विस्तारमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएका हमाल प्रधानन्यायाधीश राणाका जेठान हुनुहुन्छ । राणाकै कोटाबाट उहाँलाई मन्त्री बनाइएको चर्चाका बीच वर्तमान सरकार निर्माणको मुख्य सूत्रधारसमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।

त्यसो त,काँग्रेसले पनि हमाल पार्टीको कोटाबाट मन्त्री बनेको प्रष्ट पारिसकेको छ । हमाल स्वयमले पनि हिजो कार्यभार ग्रहण गर्दै आफ्नो नियुक्तिलाई न्यायालयसँग नजोड्न आग्रह गर्नुभएको थियो । लामो समयदेखि काँग्रेसमा सक्रिय रहेको भन्दै उहाँले आफू राजनीतिक व्यक्ति भएको दाबी गर्नुभएको थियो ।

हमाल तत्कालीन समयमा काँग्रेस विभाजन हुँदा देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक बाँकेको सभापति हुनुहुन्थ्यो ।

टिप्पणीहरू