​बलात्कार बढ्दा मन्त्री किन बोल्दिनन् ?

कुनै दलले चुनाव जित्यो र सरकार बनाउने हैसियत बनायो भने पनि मन्त्रालय र प्रधानमन्त्री निवासतिर शीर्ष नेताहरूको बास हुने त पछि नै हो नि ! सबैभन्दा महत्वपूर्ण स्थल जुनसुकै दलका लागि पार्टीको केन्द्रीय कार्यालय नै हुनुपर्ने हो । तर, अहिले सबैजसो ठूला दलका मुख्यालय सुनसान छन् । त्यसमा पनि सरकारको नेतृत्व गरिरहेको एमालेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय झन् ‘भूत बंगला’ झैं चकमन्न देखिन थालेको छ ।

त्यति मात्र होइन, महिला, बालबालिकाजस्तो संवेदनशील मन्त्रालयमा आधा आकाशरूपी महिलाहरूको संगठन अनेमसंघकी महासचिव छिन् र दिनदिनै समाजमा बलात्कारजस्ता संवेदनशील घटना बढी प्रहरी प्रशासनसमेत मिलेर पीडितलाई चुप लगाउने काम पनि भइरहेको छ । तर न विपक्षी न सत्तारुढ दल– यसमा कोही केही बोल्दैनन्, न त मन्त्रीले नै कडा निर्देशन दिन्छिन् । उता, ठूला नेताहरू भने अर्कै चटारोमा छन् । सम्भवतः फागुन २९ गते राष्ट्रपतिको निर्वाचन सम्पन्न नभएसम्म सरकार पूरै विस्तार नहुने भएपछि यसबीच अर्को मधेसी दल राजपासँग घनीभूत छलफल गर्न र सत्ता सहयात्री बनाउन पनि पर्याप्त समय रहने नै भयो । पहिलो चुनावलगत्तै पेरिसडाँडा, बल्खु वा सानेपा जहाँसुकैका पार्टी मुख्यालयमा थामिनसक्ने भीडभाड हुने गथ्र्यो । मन्त्री हुन होस् वा पार्टीका आगामी कदमबारे आफ्ना राय, सुझाव, माग, अपेक्षा, गुनासा राख्न होस्, नेता–कार्यकर्ता जाने गर्थे । तर, यसपटक भने ठीक उल्टो देखिएको छ ।

पेरिसडाँडा र सानेपाको रौनक घटेको छ भने धुम्बाराही अनौठोसँग सुनसान छ । बधाई दिन र थाप्न त्यहाँ कोही गएको छैन । पार्टी अफिसमा सन्नाटा छाएको छ भने नेताको घर र मन्त्री, प्रधानमन्त्री निवासमा बिहानैदेखि मध्यरातसम्म भीडभाड देख्न सकिन्छ । घर अफिस जस्तो र अफिस घरजस्तो किन भयो ? कहीँ विधि र पद्धतिमै त समस्या छैन ? घर भनेको शान्तपूर्वक, तनावरहित हिसाबले कुनै पनि मानिसले व्यक्तिगत जीवन जिउने ठाउँ हो । घरको भीडले गर्दा परिवारमा उत्पन्न हुने तनाव र चिया–खाजा खर्चबारे सोच्नु पर्दैन ? यसले विकास गरेको संस्कारले अब हामीलाई नेताको घर धाउने बनाउँदै छ कि पार्टी कार्यालयको सम्मान गर्ने कार्यकर्ता पंक्ति बढाउँदै छ ? पूरा बहुमत प्राप्त गरेको छ पार्टीले, त्यसमाथि वाम एकताको उत्साह छ । तर, यस्तो बेलासमेत कार्यालयमा उमंग नछाउनुको कारण के हो ? संसदीय व्यवस्थाका लागि यो राम्रो लक्षण किन पनि होइन भने घरमा जमघट हुने संस्कारले व्यक्ति पूजा गर्ने र रिझाउने पद्धतिको विकास गर्छ । पहिले गुट हेरिन्थ्यो ।

पार्टी कार्यालयमा भेला हुँदा गुटसम्मको छलफल त चल्दैनथ्यो अब त नेताको (व्यक्तिको) मात्र पछि लाग्ने बानी पार्न थालिएको छ । यस्तै हो भने के अब सिष्टमले काम गर्न छाडेको निश्कर्ष निकाल्ने होे त ? विडम्बना के छ भने मुलुकमा राष्ट्रपति महिला छिन् । महिला तथा बालबालिका मन्त्री पनि एमालेले नै पाएको छ । तर, बलात्कारका घटना हुने र मिलापत्रमा टुंगिने क्रम बढ्दो छ । ०३८ सालमा पोखरामा नमिता–सुनिता बलात्कार र हत्याकाण्ड हुँदा संसद, सडक सबैतिर आन्दोलनको आँधीबेहरी चलेको थियो । धर्ना, जुलुस, वक्तव्यवाजी सबै हुन्थे । तर, अहिले दिनदिनै कहालीलाग्दो गरी बलात्कारका घटना हुन्छन् । चासो कसैलाई छैन । कुनै नेतालाई त्यसको संवेदनाले छोएको छैन । सत्तारुढ पार्टीको महिला संगठन अनेमसंघ छ । त्यसले भोलि महिला दिवस मनाउने तयारी गरिरहेको छ ।

फेरि पनि प्रश्न के हो भने वर्षको एकपटक तिथि हेरेर श्राद्ध गरेजस्तो पाराले के महिला अधिकार र अस्मिताको रक्षा हुन्छ ? किन कुनै वक्तव्य निकाल्ने सामान्य दायित्वबोधसम्म पनि कुनै महिला संगठनले गर्न छाडेका हुन् ? महिला तथा बालबालिका मन्त्री थममाया थापा अनेमसंघकी महासचिव पनि हुन् तर किन चासो लिन्नन् ? उनी ‘यो त स्थानीय निकायको काम पो हो’ भन्न थालेकी छन् । काठमाडौं महानगरकी कांग्रेसनिकट उपप्रमुख हरिप्रभा खड्गी आइतबारको कार्यक्रममा चर्कोसँग बोलिन् । हुन त प्रतिपक्षीको भूमिका निभाएकी होलिन् । तर, कम्युनिष्ट पार्टी नै चाहिँ त्यस्ता मामिलामा चुप लाग्नुको कारण के हो ? यसबारे सोद्धा एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा भन्छन्, ‘तपाईंले नोटिस गरेको कुरा ठीक हो । यसमा मेरो असहमति छैन । सबभन्दा धेरै पार्टी अफिस आउने मै हुँ । यो मैले पनि अनुभूत गरेको पीडा हो । यसमा मलाई दुःख लागेको छ ।’

टिप्पणीहरू