भारतीय पाहुना ओइरेको ओइरियै
प्रधानन्यायाधीश विवादले नेपाली राजनीति तरंगित बनेका बेला भारतीय नेताहरुको काठमाडौँमा लर्को लागेको छ । आइतबार काठमाडौँ उत्रिनुभएका नेपालका लागि पूर्व राजदूत रञ्जित रेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरुलाई पालैपालो भेटघाट गर्नुभएको छ ।
रेले आज बिहान खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ भने हिजो बिहान कांग्रेस उपसभापति तथा आसन्न महाधिवेशनमा सभापतिको उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधिसँग आफू बसेको होटल द्वारिकाजमा छलफल गर्नुभएको थियो । रेले कांग्रेसका अन्य नेताहरुसंग पनि छलफल गरेको बताइएको छ ।
पूर्वराजदूत रे राजनीतिक नेतृत्वसँग भेटघाटमा सक्रिय रहेकै बेला मायावती नेतृत्वको बहुजन समाज पार्टीका प्रवक्ता पनि हिजो सिंहदरबार छिर्नुभएको थियो ।
उत्तर प्रदेशमा लामो समय सत्ता चलाएको बहुजन पार्टीका प्रवक्ता सुधीन्द्र भदोरियाले हिजो बिहान गृहमन्त्री बालकृष्ण खाडसँग लामो भेटवार्ता गर्नुभएको हो । मन्त्री खाड र भदोरियाबीच गृह मन्त्रालयमा ४० मीनेट भेटवार्ता भएको बताइएको छ ।
पछिल्लो समय नेपालमा बढेको राजनीतिक ध्रुवीकरण र न्यायालयमा चर्किएको विवादले सिंगो राजनीति तरंगित भैरहेका बेला भारतीय नेताहरुको दौडधुपलाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू