सम्लग्न सबै न्यायाधीशले राजीनामा दिए राणा पनि छाड्न तयार

सम्लग्न सबै न्यायाधीशले राजीनामा दिए राणा पनि छाड्न तयार

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले प्रश्न उठेका सबै न्यायाधीशले मार्गप्रशस्त गरे आफू पनि तयार रहेको बताउनुभएको छ । आफ्नो राजीनामा माग्न पुगेका सर्वोच्च अदालतका १४ न्यायाधीशलाई जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

भेटमा सहभागी एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश राणाले आफ्नो नियुक्ति संवैधानिक तवरले भएकाले बहिर्गमन पनि संवैधानिक नै हुने भन्दै राजीनामा नदिने प्रष्ट पार्नुभएको हो । बताइएअनुसार सडक र मिडियाले भनेकै भरमा सर्लक्क राजीनामा दिने पक्षमा आफू नभएको राणाको प्रष्ट भनाइ थियो ।

न्यायाधीशहरुले भने प्रधानन्यायाधीश राणाका कारण न्यायालय विवादित भएको भन्दै उहाँलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । प्रधानन्यायाधीशलाई भेटेर फर्किएका १४ न्यायाधीश भने फेरि आपसी छलफलमा जुटेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने संवैधानिक इजलासको निर्णय,नेकपा विभाजनको फैसला,सोही फैसलामा पुनरावलोकनको निस्सा नदिनेलगायतका निर्णयप्रति विभिन्न कोणबाट प्रश्न उठिरहेको छ । यी सबै निर्णय गर्ने इजलासमा प्रधानन्यायाधीशको राजीनामा माग्ने न्यायाधीशहरु समेत संलग्न रहेका छन् ।

प्रश्न उठेका सबैले राजीनामा दिनुपर्ने प्रधानन्यायाधीशको तर्कले न्यायालय थप विवादमा फस्ने देखिएको छ । सर्वाेच्च स्रोतका अनुसार राणाले केही बेरपछि पत्रकार सम्मेलनको तयारी गर्नुभएको छ ।

टिप्पणीहरू