स्मार्ट लाइसेन्सको आवेदन खुल्यो, यस्तो छ नयाँ व्यवस्था

स्मार्ट लाइसेन्सको आवेदन खुल्यो, यस्तो छ नयाँ व्यवस्था

यातायात व्यवस्था विभागले हिजोदेखि लाइसेन्सको लागि नयाँ आवेदन खुलाएको छ । कोरोना महामारीको कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको नयाँ आवेदन छ महिनापछि खुलेको हो ।

लाइसेन्सको लागि अब आवेदन दिनेहरुले नयाँ व्यवस्थाअनुसार लिखित र ट्रायल परीक्षा उतीर्ण गर्नुपर्ने छ । विभागले गत साउनदेखि लागु हुनेगरी विद्यमान व्यवस्थामा संशोधन गरेको हो । नयाँ व्यवस्थाले चालकहरुलाई लाइसेन्स लिन सहज हुने विभागले जनाएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार पहिला ट्रायल दिन बाँकी रहेकाहरुको अहिले धमाधम ट्रायल भइरहेको छ ।‘काठमाडौं उपत्यकाबाट लाइसेन्स निकाल्न आवेदन दिनेहरुको पालो चार महिनाभन्दा अघि सम्भव नहोला,’ उहाँले भन्नुभयो । काठमाडौं उपत्यकाभन्दा बाहिरका जिल्लामा लाइसेन्स लिने प्रक्रिया यो महिनाभित्र शुरु हुने जानकारी उहाँले दिनुभएको छ ।

यातायात व्यवस्था विभागको नयाँ व्यवस्थामा उल्लेखित नितिहरु यस्तो रहेको छ :

निर्देशिकाको वर्ग ‘क’ मा मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ मा कार, जीप र डेलिभरी भ्यानको चालक अनुमतिपत्र लिने व्यवस्था गरिएको छ । त्यस्तै, निर्देशिकाको दफा ५ मा लिइने लिखित परीक्षाको लागि विभागले पाँच सय वटा वस्तुगत बहुप्रश्नको संग्रह पनि सार्वजनिक गरेको छ ।

लाइसेन्स लिनको लागि आवेदन दिएकाहरुको परीक्षा जम्मा १०० पूर्णाङ्कको हुने बताइएको छ । लिखित परीक्षाको समयावधि ३० मिनेटको हुनेछ । लिखित परीक्षामा न्यूनतम ६० अंक प्राप्त गर्ने परीक्षार्थी उत्र्तीण हुने उल्लेख छ ।

पछिल्लो व्यवस्थाअनुसार लिखित परीक्षा दिनेहरुले यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीको प्राविधिक पक्षसम्बन्धी ज्ञानका २५ वटा वस्तुगत उत्तर दिनुपर्ने छ । प्रत्येक प्रश्न ४ अंकको हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट परीक्षा सञ्चालन गर्न सक्ने जनाइएको छ ।ट्रायल दिनेहरुले न्यूनतम ७० अंक ल्याए उत्तीर्ण हुनेछन् । ट्रायलमा आफ्नो सवारी साधनको प्रयोग गर्न पाइने छैन । सम्बन्धित कार्यालयले तोकेको सवारी साधन मात्र प्रयोग गर्न पाइने गरिएको छ । ट्रायलको लागि प्रयोग गरिने सवारी साधन पेट्रोल, डिजेल र ग्यासबाट चल्ने हुनुपर्नेछ । तेस्रो पक्षको समेत बिमा गरिएको सवारी साधनको प्रयोगले मात्र ट्रायल दिन पाइन्छ ।

प्रयोगात्मक परीक्षाको अंकलाई यसप्रकार विभाजन गरिएको छ :

घुमाउरो आठ २० अंक, साँघुरो फलेक १० अंक, युटर्न १० अंक, ट्राफिक संकेत १५ अंक, उबडखाबड १५ अंक, उकालो २० अंक, परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनको १० अंक ।

ट्रायलमा अंक काटिने अवस्थाहरू भनेर यसरी उल्लेख गरिएको छ :

घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ । एक पटक गोडाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ । ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ । उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ ।

त्यसैगरी एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ । त्यसो नगरे पनि ३ अंक घट्नेछ । दुई पाङ्ग्रेको हकमा हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ । असंयमित भएर सवारी चलाए पनि अंक घट्नेछ ।

अनुतीर्ण हुने अवस्थाको बारेमा यस्तो व्यवस्था गरिएको छ :

एक पटकभन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा, एक पटकभन्दा बढी अंकित रेखा छोएमा वा गोडा भुइँमा टेकेमा, ठीक दिशाबाट ठीक तरिकाले ८ आकारमा नचलाएमा, सवारीको स्टार्ट बन्द भएमा, साँघुरो फलेकमा गोडाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी साधन फलेक बाहिर निस्किएमा पनि अनुतीर्ण हुने भनिएको छ ।

त्यसैगरी उकालोमा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारी साधनको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा अनुतीर्ण हुनेछ । उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघि सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा पनि अनुतीर्ण हुने बारे उल्लेख गरिएको छ ।

टिप्पणीहरू