के हो त अब राणासामुको विकल्प ?
न्यायाधीशहरु,दुवै बार र कानुन व्यवसायीहरु एकै स्वरमा आफूविरुध्द उत्रिएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा चौतर्फी दबाबमा पर्नुभएको छ । कुनै हालतमा राजीनामा नदिने अडानमा रहनुभएका उहाँ आफूनिकट न्यायाधीशहरुले समेत बेन्चमा बस्न नमानेपछि थप दबाबमा पर्नुभएको हो ।
नेपाल बार र सर्वोच्च बारले संस्थागत रुपमै एक स्वरमा राजीनामा माग्दासमेत टसको मस नहुनुभएका प्रधानन्यायाधीश राणालाई अप्ठेरो अवस्थामा साथ दिँदै आएका न्यायाधीशहरु समेत इतर कित्तामा उभिएपछि राजीनामा दिने वा बिदा बस्ने बाध्यता आइलागेको छ । उहाँसँग अब विकल्पहरु समेत सीमित हुँदै गएका छन् । आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुने या मार्गप्रशस्त गरेर सम्मानजनक बिदाई रोज्नेबाहेक अरु विकल्प तत्काल देखिएको छैन ।
राणाको राजीनामाबारे अनौपचारिक धारणा राख्दै आएको नेपाल बार एशोसिएशनले हिजो संस्थागत निर्णय गरेर मार्ग प्रशस्तको विकल्पमा देशव्यापी आन्दोलन चर्काउने निर्णय गरेको छ । सर्वोच्चका १५ जना न्यायाधीश अस्तिदेखि घोषित रुपमै राणाविरुध्द मोर्चाबन्दीमा छन् ।
संवैधानिक बहिर्गमनबाहेक अरु स्वीकार्य नभएको बताउँदै आउनुभएका राणासँग विदामा बस्ने अर्को विकल्प पनि बाँकी छ । तर,त्यो दीर्घकालीन समाधानको विकल्प भने होइन । कम्तिमा एकसाता विदा बस्ने र यसबीचमा अनुकूल परिस्थिति बनाएर न्यायालयको नेतृत्वमा फर्किने रणनीतिका रुपमा विदाको विकल्पलाई हेरिएको छ । तर,बार स्रोतले भने राजीनामाबाहेक अरु कुनै विकल्प स्वीकार नहुने बताइसकेको छ । न्यायाधीशहरु पनि विदामा बसेर समस्याको समाधान ननिस्कनेमा एकमत छन् ।
यता, राणा निकट स्रोतले पनि विदामा बसेर निकास दिनेबारे छलफल भएको पुष्टि गरेको छ । तिहारसम्म विदा बस्ने र परिस्थिति आफू अनुकूल बनाएर सहजिकरण गर्न राणा सकारात्मक देखिए पनि राजीनामा दिने सम्भावना भने निकै न्यून रहेको स्रोतको दावी छ । ‘उहाँसँग विकल्पहरु सीमित हुँदै गएका छन् । एउटै विकल्प भनेको अब विदा बस्ने र त्यहीबीचमा परिस्थिति आफ्नो पक्षमा ल्याउन माहोल बनाउने हुनसक्छ’, स्रोत भन्छ ।
१५ न्यायाधीश आफूविरुद्ध मोर्चाबन्दीमा उत्रँदासम्म खासै महत्व नदिनुभएका प्रधानन्यायाधीशले बारले एकै स्वरमा राजीनामा मागेपछि भने दबाब महसुस गरेको बताइन्छ । बार नै खुला उत्रेपछि अब सम्हाल्न गाह्रो हुने आंकलन राणाले समेत गरिसकेको स्रोत दावी गर्छ । राजीनामा नदिने तर अरु कुनै विकल्प रोजेर भने पनि परिस्थितिलाई सहजीकरण गर्न भूमिका खेल्नैपर्ने दबाबका बीच बिदाको रणनीति बन्न सक्ने उक्त स्रोतको भनाइ छ ।
त्यसो त,आफ्नै पक्षका भनिएका न्यायाधीशहरु समेत बेञ्च बहिष्कारको अवस्थामा पुग्नु र बारमा झिनो आवाजसमेत आफ्नो पक्षमा नआउनुले पनि न्यायालय प्रमुखका रुपमा प्रधानन्यायाधीश राणाका लागि आगामी दिन त्यति सहज नहुने प्रष्ट छ । हुन त बारभित्र राणाको पक्षमा मत भए पनि त्यो बाहिर प्रकट हुन नसकेको कतिपयको बुझाइ छ । राणा पक्षधरहरु बाहिर प्रकट नहुनुलाई ओरालो लागेको मिर्गलाई बाच्छाले पनि लखेटेको अर्थमा पनि बुझिएको छ ।
निकटस्थहरुका अनुसार तिहारसम्म घरमै बसेर परिस्थितिको विश्लेषण गरी दोस्रो स्टेप चाल्ने वा बाँकी पूरै कार्यकाल विदा बसेर अवकाश लिने कुरा आगामी दिनमा विकसित हुने घटनाक्रमले निधो गर्छ । विदा बसे पनि प्रधानन्यायाधीशका हैसियतमा बेञ्च तोक्ने अधिकार रहने भएकाले पनि राजीनामा भन्दा विदालाई उचित विकल्पका रुपमा हेरिएको बताइन्छ ।
यता,प्रधानन्यायाधीशले राजीनामा दिँदा र विदा बस्दाको सम्भावित परिस्थिति र भावी नेतृत्वबारे पनि चर्चा हुन थालेको छ । उमेर हदका कारण राणाको कार्यकाल अर्को बर्ष डिसेम्बर १३ मा सकिंदै छ । राणाले अहिले राजीनामा दिएको अवस्थामा दोस्रो वरीयताका बरिष्ठतम न्यायाधीश दीपक कार्की प्रधानन्यायाधीश बन्नुहुनेछ । बाँकी पूरै कार्यकाल राणाले विदा बस्ने निर्णय गरे कार्कीको कन्फर्म प्रधान न्यायाधीश बन्ने सम्भावना रहँदैन । यस्तो अवस्थामा अर्को डिसेम्बरपछि हरिकृष्ण कार्की नेतृत्वमा आउनुहुन्छ।
राणा निकट अरु कतिपयले भने राजीनामा दिएर सहजीकरण गर्नु नै उपयुक्त विकल्प हुने भएकाले विदाको विकल्प नरोज्न सुझाएका छन् । न्यायालयमा भएका बेथिति, सुधारका लागि आफूले गरेका प्रयास र पछिल्ला परिस्थितिसमेतको फेहरिस्त समेटेर वक्तव्य सार्वजनिक गरी सहज बाटो रोज्नु नै राणा स्वयमका लागि श्रेयस्कर हुने उनीहरुको तर्क छ ।
टिप्पणीहरू