जताततै जुवाडे पक्राउ, लाखौं रुपैयाँ बरामद

जताततै जुवाडे पक्राउ, लाखौं रुपैयाँ बरामद

तिहार नलाग्दै देशका विभिन्न ठाउँबाट जुवा खेल्ने र खेलाउनेहरु समातिन थालेका छन् । भक्तपुर, तनहुँ, नवलपरासी, कञ्चनपुरलगायतका जिल्लाबाट जुवाडेहरु भटाभट पक्राउ परेका हुन् ।

सोमबार भक्तपुरको गोल्मढीबाट चार जना जुवाको खालबाटै पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–७, गोल्मढीका ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेका राजेशसहित चार जना सोमबार राति पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट नगद ६९ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडा भीमसेन चोकस्थित थकाली भान्सा घरमा तास खेलिरहेको अवस्थामा स्थानीय सूर्यबहादुर बिकलगायत ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । भान्सा घरमा जुवातास खेलिरहेका उनीहरुबाट पनि नगद ५८ हजार ४ सय ९५ रुपैयाँ र १ बुक तास बरामद भएको हो ।

यता, नवलपरासी (पूर्व), गैंडाकोटमा पनि ६ जना जुवाडे प्रहरीको फन्दामा परेका छन् । गैंडाकोट नगरपालिका–१०, भैसाखोरीका डिल्लीराम सापकोटाले सञ्चालन गरेको सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा डिल्लीरामसहित ६ जना गए राति समातिएका हुन् । रेष्टुरेण्टमा जुवातास खेलिरहेका उनीहरुबाट १ लाख २५ हजार ३५ रुपैयाँ र १ बुक बरामद भएको छ ।

सुदूरपश्चिमको कञ्चनपुरमा पनि तास खेल्नेहरु समातिएका छन् । कृष्णपुर नगरपालिका–५, गुलरियाका वर्षीय भीमबहादुर बोहोराको घरमा तास खेलिरहेको अवस्थामा बोहोरालगायत १४ जनालाई हिजो राति प्रहरीले पक्राउ गरेको छ । त्यहाँ पनि प्रहरीले ९३ हजार १ सय ८५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।

टिप्पणीहरू