अदालतको ढोका थुन्दै कर्मचारी युनियन

अदालतको ढोका थुन्दै कर्मचारी युनियन

सर्वोच्च अदालतका ट्रेड युनियनहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई अदालत प्रवेशमा रोक लगाउनेवारे छलफल गरेका छन् । आज बसेको ट्रेड युनियनहरुको संयुक्त बैठकले तीन दिनभित्र राणाले राजीनामा नदिए अदालत प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

यसअघि नेपाल बार एशोसिएशनले पनि प्रधानन्यायाधीशले अबिलम्ब राजीनामा नदिए अदालत प्रवेश गर्न नदिने बताएको थियो । चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले १७ गतेसम्म राणाले मार्गप्रशस्त नगरे बाटो छेक्ने निर्णय गरेको हो ।

यता, राणाको राजीनामा माग्दै एक सातादेखि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुले राजीनामाको अडानलाई यथावत राख्ने निर्णय गरेका छन् । न्यायाधीशहरुको आज बसेको बैठकले राजीनामाको अडानबाट पछि नहट्ने निर्णय गरेको बताइएको छ ।

प्रधानन्यायाधीश राणाले अस्ति ‘ग्रेसफूल एक्जिट’ को प्रस्ताव पठाए पनि आज संवैधानिक बाटोबाटै आफूले बिदा लिने बताएपछि विवाद फेरि बल्झिएको हो । हिजो बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न इजलासमा बसेका न्यायाधीशहरू प्रधानन्यायाधीश राणाको आजको अर्को प्रस्ताव आएपछि थप असन्तुष्ट बनेका हुन् ।

ट्रेड युनियनहरुको पछिल्लो निर्णयसँगै न्यायालयसम्बन्धी विवाद थप जटिल बनेको छ ।

टिप्पणीहरू