महामारीमा फर्केकाले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र

महामारीमा फर्केकाले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र

कोरोना महामारीका कारण चीनलगायत विभिन्न मुलुकबाट पढाई छाडेर बीचैमा स्वदेश फर्किएका विद्यार्थीहरुलाई पुनः सम्बन्धित देशमा पठाउने वातावरण मिलाउन संयुक्त विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।

सात विद्यार्थी संगठनले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाउँदै सयौँको संख्यामा अड्किएका त्यस्ता विद्यार्थीलाई तत् तत् देशमा फर्काउने वातावरणका लागि कूटनीतिक पहल लिन आग्रह गरेको हो ।

ज्ञापनपत्रमा विद्यार्थीहरु त्यसरी अड्किँदा नेपाली अभिभावकहरुको करोडौं लगानी र विद्यार्थीहरुको सपना चकनाचुर हुने अवस्था आएको भन्दै चीनलगायत अन्य देशका सरकारसँग कूटनीतिक पहलमार्फत तत्काल फर्किने वातावरण मिलाउन अनुरोध गरिएको छ ।

पीएचडी, एमडी/एमएस, एमडीएस, एमबीबीएस, इञ्जिनियरिङ तथा एमबीएलगायतका कोष अध्ययनको क्रमलाई बीचमा छाडेर फर्किएका विद्यार्थीहरु लामो समयदेखि नेपालमै बस्न बाध्य भएको भन्दै ज्ञापनपत्रमा उनीहरुलाई पुनः चीनलगायतका देशमा जाने वातावरण बनाइदिन आग्रह गरिएको छ ।

संयुक्त विद्यार्थी संगठनले अनलाइन माध्यमबाट अध्ययन गर्न सम्भव नहुने र त्यस्तो योग्यताको प्रमाणपत्रलाई नेपालमा मेडिकल काउन्सिल र इञ्जिनियरिङ काउन्सिलले समेत मान्यता नदिने भएकाले नेपाली अभिभावकको करोडौँ लगानी खेर जाने अवस्था बनेकोमा चिन्तासमेत जनाएको छ ।

काँग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन, जनमोर्चानिकट अखिल छैठौं, विप्लव नेतृत्वको नेकपा सम्बद्ध अखिल (क्रान्तिकारी) र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको अखिल क्रान्तिकारीले आज परराष्ट्र मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

टिप्पणीहरू