सिंह र मिश्र एकअर्कालाई झम्टँदै
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एक-अर्कालाई कटाक्षपूर्ण टिप्पणी गरेका छन् । गत निर्वाचनमा एक अर्काको चुनावी प्रतिष्पर्धीसमेत रहेका यी दुई नेताबीच आज राजनीतिक दोहोरी चलेको हो ।
नेता सिंहले राजनीतिमा नयाँ नारा दिएर मात्र नहुने बरु काम गरेर देखाउनुपर्ने बताएपछि रुष्ट भएका मिश्रले तत्कालै जवाफ फर्काएर आफ्नो बचाउ गरेका छन् । सिंहले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा काम नगर्ने तर,कुरा मात्रै गर्ने नेतालाई जनताले चिन्नुपर्ने बताएका थिए । नयाँ नारा अघि सारेर मात्रै राजनीति सम्भव नहुने भन्दै उनले जनताले पनि काम गर्ने नेतालाई चुनावमा जिताउनुपर्ने धारणा राखेका थिए ।
मिश्रतर्फ इंगितत गर्दै सिंहले राजनीतिको ”र” पनि नजान्ने तर नयाँ नयाँ नारा उराल्नेहरुबाट जोगिनुपर्ने टिप्पणी पनि गरेका थिए । नेता सिंहले आफू लक्षित टिप्पणी गरेपछि मिश्रले पनि फायर खोले । सिंहलाई जवाफ दिँदै मिश्रले मूलधारका पार्टीले ३० वर्षसम्म केही गर्न नसकेकाले नै आफूहरु राजनीतिमा आउनुपरेको तर्क गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तपाईंहरुले गत ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउनुपर्ने नै थिएन ।’
३० वर्ष शासन गरेर सिंहहरुले नै सबै बिगारेको आरोप पनि उनले लगाएका छन् । ‘३० वर्षमा केही गर्न नसक्ने, देशको राजनीतिदेखि पुलिस,प्रशासन,विश्वविद्यालय, न्यायालय,समाज सबै बिगार्ने तपाईंहरु अनि दोष लगाउने हामीलाई ?, मिश्रले सिंहलाई सोधेका छन् ।
उनले आफूहरु जनताबाट अनुमोदित भएर सत्तामा नगएकाले काम गर्न नसकेको भन्न नमिल्ने पनि दावी गरे । आफ्नो पार्टीबाट निर्वाचित बाग्मती प्रदेशका सांसदहरुले गरेको कामको सबैतिर प्रशंसा भैरहेको भन्दै उनले अन्यत्र काम गरेर देखाउन आफूहरुलाई जनअनुमोदन प्राप्त नभएको उल्लेख गरेका छन् ।
सिंह काठमाडौं क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रमा चुनाव लडेका मिश्रलाई उनले पराजित गरेका थिए ।
टिप्पणीहरू