तिब्बतमा भूकम्पको पूर्वजानकारी प्रणाली स्थापना
चीनको तिब्बत स्वायत्त प्रदेशमा भूकम्पको पूर्वजानकारी दिने चेतावनी प्रणाली स्थापना गरिएको छ । प्रान्तीय सरकारका अनुसार उक्त प्रणाली हाललाई परीक्षणको रुपमा सञ्चालन गरिएको हो ।
हालसम्मको परीक्षणबाट भूकम्पभन्दा १० सेकेण्डअघि नै त्यसले चेतावनी दिएको प्रमाणित भएको छ । यसबाट तत्काल इमर्जेन्सी सुरक्षाका मापदण्ड अपनाउन सकिने प्रान्तीय सरकारका उपप्रमुख चाङ चुनले जानकारी दिएका छन् ।
गत जुलाई ३० देखि थालिएको यो परियोजनामा ४४ लाखभन्दा बढी अमेरिकी डलर लगानी भइसकेको छ । तिब्बतमा मात्रै वार्षिक २ हजार ९ सयवटा १ म्याग्नेच्युडभन्दा बढीको भूकम्प जाने गरेको छ । तीमध्ये पाँचदेखि छ वटा भुईंचालो ५ वा सोभन्दा बढी म्याग्नेच्युडको विनाशकारी हुने गरेका छन् ।
तिब्बतलाई चीन र विश्वमै सबैभन्दा धेरै भूकम्प जोखिम भएका क्षेत्रहरुमध्ये एक मानिन्छ ।
समाचार÷फोटो : सिन्ह्वा
टिप्पणीहरू