गुपचुप विदेश भगाउने तयारी, बालक एकाएक सम्पर्कविहीन

गुपचुप विदेश भगाउने तयारी, बालक एकाएक सम्पर्कविहीन

जन्म दिने आमा र बाबुबीचको खटपटका कारण दिदीभाइको बिजोग भएको छ । धादिङ घर भएका उनीहरुमध्ये ११ वर्षका बालकलाई गुपचुप धर्मपुत्र बनाएर विदेश लैजान खोजिएपछि १४ वर्षीया दिदीले प्रशासन गुहारेकी छन् । भाइ पनि एकाएक सम्पर्कविहीन भएपछि सर्वत्र चासो बढेको छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लैजाने तयारी बुझेपछि परिवारका सदस्यले प्रहरी प्रशासनलाई बेलैमा जानकारी गराएका हुन् ।

“कृष्णप्रसादले कान्छी लिएर दुबईतिर बसेको र आमा फुक्काफाल जिन्दगी बिताउँदै हिँडेकाले आफूहरुको बिजोग भएको छोरीले लेखेकी छन् ।”

धादिङको थाक्रे गाउँपालिका २ का ती दिदी र भाइको पीडा १४ वर्षीया दिदी कुसुम अधिकारीले गाउँपालिकामा दिएको लामो निवेदनमार्फत पोखिएको छ । उनले लामो समयदेखि भाइ कुशल अधिकारीलाई रामेछाप नगरपालिका २ का नीलकण्ठ श्रेष्ठले उतै पालनपोषण गर्दै आएको र यसबीच विदेश उडाउन खोजेको थाहा पाएपछि भाइको जीवन रक्षा भन्दै उजुरी हालेकी हुन् ।

यसबीच कात्तिक ८ गते दिदी कुसुम, ठूलो बुबाहरु होमनाथ र नवराज अधिकारीले रामेछापका प्रमुख जिल्ला अधिकारीको रोहबरमा छलफल गरेका थिए । त्यसपछि श्रेष्ठले उनीहरुलाई बालक जिम्मा लगाउने प्रतिबद्धता जनाएको बताइन्छ । तर,अहिले न रामेछापमा ती बालक छन्,न परिवारको सम्पर्कमा नै । उनले गोप्य तवरबाट दिदीलाई पहिले नै आफूलाई विदेश लैजान खोजेको जानकारी गराएकाले अहिले अनेक आशंका गरिएको हो ।

यससम्बन्धी विस्तृत विवरणसहितको निवेदन थाक्रे गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय धादिङलाई लेखेको छ । धादिङको सिडियो कार्यालयले रामेछाप कार्यालयलाई लेखेको कात्तिक १४ गतेको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय, रामेछापले भोलिपल्टै बालकको खोजतलास र उद्धार निम्ति आवश्यक कारबाहीको निर्देशन दिएको देखिन्छ । तर,झण्डै एक साता बित्न लाग्दासमेत बालकको अत्तोपत्तो छैन ।

दिदी कुसुमको निवेदनअनुसार उनीहरुका बाबु कृष्णप्रसाद अधिकारी हाल विदेशमा छन् भने आमा रुपा सम्पर्कमा छैनन् । उनीहरुबीच छ वर्षअघि सम्बन्धविच्छेद भएको हो । कृष्णप्रसादले कान्छी लिएर दुबईतिर बसेको र आमा फुक्काफाल जिन्दगी बिताउँदै हिँडेकाले आफूहरुको बिजोग भएको छोरीले लेखेकी छन् । त्यतिबेला दिदी ८ वर्षकी र भाइ कुशल ५ वर्षका मात्र थिए ।

उनीहरुलाई आमा रुपाले काठमाडौं ल्याएर अरुको घरमा राखिदिइन् । आमाले कहिल्यै पनि आफूहरुलाई सँगै कोठामा नराखेको पीडा कुसुमले स्थानीय तहलाई लेखेको निवेदनमा खुलाएकी छन् । आमासँगै उनलाई मामाघरकी हजुरआमाले समेत दुःख दिएको उल्लेख छ । अरुको घरमा काम गर्न बस्दा भोगेको दुर्ब्यवहारलाई कुसुमले सांकेतिक रुपमा दर्दनाक तवरले जानकारी गराएकी हुन् ।

तर,अहिले भाइलाई गुपचुप विदेश उडाउन खोजिएको भन्दै उनले निवेदन दिएपछि कुशलको खोजीको निम्ति प्रशासनलाई दबाब परेको छ । काठमाडौं विमानस्थलबाट उडाउन खोजिएका भाइ यसबीच बेपत्ता भएका छन् । उनी जानाजान बेपत्ता भएका हुन् वा बेपत्ता पारिएको हो, त्यो भने खुलेको छैन ।

टिप्पणीहरू