कता जाने ? नयाँ मन्त्रीलाई भ्याइनभ्याई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल यतिखेर गृहजिल्ला बाङलुङको गाउँदेखि जिल्ला सदरमुकामका कार्यक्रममा सहभागी हुन दौडादौडको अवस्थामा हुनुहुन्छ । जिल्लाले लामो समयपछि मन्त्री पाएकाले पौडेललाई स्वागत गर्नदेखि प्रमुख अतिथि बनाउन होडबाजी नै चलेको छ ।
प्रेस सेन्टर नेपाल,बागलुङ शाखाको पाँचौ अधिवेशनमा आज मन्त्री पौडेललाई प्रमुख अतिथि बनाएर ११ बजे कार्यक्रम शुरु गर्ने भनियो । मन्त्री आउने थाहा पाएपछि जिल्ला सदरमुकाममा रातारात उहाँको स्वागत र सम्मान गर्न तँछाडमछाड हुन थाल्यो ।
निम्तो पाएका अतिथिदेखि कार्यालय प्रमुखहरु ११ बजे अगावै प्रतिक्षामा बसे । तर मन्त्रीको आगमन नभएपछि सबै जना मुखामुख गरिरहे तर कसैले पनि मुख खोल्न सकेनन् । गण्डकी प्रदेशका मन्त्री पनि प्रमुख अतिथिकै बाटो हेरेर बसेका थिए ।
आधाभन्दा बढी कार्यक्रम सकिएको झण्डै दुई घण्टापछि मन्त्री पौडेल कार्यक्रमस्थलमा पुग्नुभएको हो । प्रेस सेन्टर अधिवेशनको लागि प्रमुख अतिथिको समय दिए पनि मन्त्री जिल्ला सदरमुकामभित्रैका अन्य कार्यक्रममा सहभागी हुँदा ढिलो भएको जवाफ दिइएको छ ।
तर, ‘प्रमुख अतिथि आउँदै गर्छन्, कार्यक्रम शुरु हुँदै गर्छ,’ भन्दै अधिवेशन थालिएको र मन्त्री नआए पनि कार्यक्रम शुरू गरेर राम्रो जवाफ दिइएको छ ।
टिप्पणीहरू