राजनीतिक संयन्त्र गठनले काँग्रेसमा बढायो असन्तुष्टि

राजनीतिक संयन्त्र गठनले काँग्रेसमा बढायो असन्तुष्टि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले हालै गठन गरेको राजनीतिक संयन्त्र औचित्यहीन रहेको टिप्पणी गरेका छन् । गठबन्धनको बलमा सरकारमा उक्लिएको काँग्रेस गठबन्धनको भावना अनुकूल नचलेको आरोप लागिरहेको बेला सिंहले राजनीतिक संयन्त्र गठनप्रति असन्तुष्टि जनाएका हुन् ।

आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले सरकारको कामलाई प्रभावित बनाउन संयन्त्र गठन गरिएको भन्दै असन्तुष्टी जनाए । उनले संविधानअनुसार पनि यस्तो संयन्त्र गठन गर्न नमिल्ने दाबी गरे । राज्यसत्ता सरकारले चलाउने भएकाले सरकारलाई नियन्त्रण गर्ने खालको कुनै संयन्त्र बनाइनु प्रजातान्त्रिक पद्धती विपरित हुने उनको भनाइ छ ।

‘सरकारभन्दा माथि संयन्त्र बनेको छ । यो संविधान र प्रजातान्त्रिक विधि विपरीत पनि हुन्छ,’ सिंहले भने, ‘काम त सरकारले गर्नुपर्ने हो । तर, समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन ।’

गठबन्धनका शीर्ष नेताहरुको अस्तिको बैठकले काँग्रस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ । गठबन्धनमा आवद्ध पाँच वटै दलबाट दुई÷दुई जना र सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्की सदस्य रहने गरि गठन भएको समितिको नेतृत्व भने दलहरुले आलोपालोमा गर्ने बताइएको छ ।

समितिमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन् । समितिमा एकीकृत समाजवादी र जसपाका तर्फबाट एक–एक जना सदस्य पछि थपिने छन् ।

पाँच दलीय गठबन्धनबाट सबैभन्दा धेरै राजनीतिक लाभ काँग्रेसले नै पाएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसकै संयोजकत्वमा राजनीतिक संयन्त्र गठन गरिए पनि काँग्रेस नेताहरु भने सन्तुष्ट छैनन् । सिंह मात्रै होइन, काँग्रेसका अरु नेताहरुले पनि सरकारको कामलाई नियन्त्रण गर्ने गरि समन्वय समिति गठन आवश्यक नभएको बताइरहेका छन् ।

टिप्पणीहरू