ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा भिषण आगलागी, दमकलले नसकेपछि स्काभेटर मगाइयो

ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा भिषण आगलागी, दमकलले नसकेपछि स्काभेटर मगाइयो

पुरानो टायरहरु पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो ईनर्जी ईन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ ।

आज बिहान पौने ६ बजे भएको आगलागीबाट उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ । यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा क्षति पुगेको छ ।

दुई सिफ्टमा सञ्चालन हुने सो उद्योग हिजो राति २ बजे दोश्रो सिफ्टपछि बन्द अवस्थामा थियो । सोहि समयमा आगलागी भएको हुनसक्ने उद्योग सञ्चालक बिनित सिंघानियाले बताए । विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने उनको अनुमान छ ।

उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागीले भिषणरुप लिएको थियो । विराटनगर महानगरपालिकाभित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको ईनरुवा र दुहबी लगायतका पालिकाबाट समेत दमकलहरु बोलाईएको उद्योग प्रशासनले जनाएको छ ।

टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मंगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो । बिहान पौने ६ बजे लागेको आगो स्थानीयवासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो ।

बिद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको भएपनि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।

उद्योगले उत्पादन गर्ने फर्नेस आयल उद्योगहरुमा ईन्धनकोरुपमा प्रयोग गरिन्छ ।

टिप्पणीहरू