एमालेमा ‘१० भाइ’ समूह : सिङ फुकाल्ने कि चित्त बुझाएर बस्ने ?
नेपालीमा एउटा उखान छ– किन चाउरिस् मरिच,आफ्नै रागले । यो उखान अहिले एमालेमा ‘तेस्रोधार’ भनेर चिनिने ‘१० भाइ’ समूहसङ्ग ठ्याक्कै मेल खाएको चर्चा छ । एमालेमै बसेर अन्तरसंघर्ष चर्काउने निष्कर्षका साथ अध्यक्ष केपी ओलीसँग सम्झौता गरी तत्कालीन माधव नेपाल समूह छाडेको यो समूह अहिले आफ्नै कारण ‘अलपत्र’ पर्ने अवस्थामा पुगेको बताइन्छ ।
भएभरका सबै नेता–कार्यकर्ता माधव नेपालतिर छाडेर एमालेमा फर्किएको यो समूह महाधिवेशनको पूर्वसन्ध्यामा आइपुग्दा विभाजित भएको देखिन्छ । अध्यक्ष ओलीसँग अन्तरसंघर्ष चर्काएर पार्टीलाई धारिलो बनाउने उद्घोषका साथ एमालेमा बसेका स्थायी कमिटीका १० नेता अहिले १० तिर फर्किएका छन् । यसैपनि कमजोर सांगठनिक धरातलमा उभिएका उनीहरु आफैंभित्रको विभाजनले चरम संकटतर्फ धकेलिएका हुन् ।
“जुनसुकै विकल्प रोजे पनि ‘१० भाइ’ समूह कम्तिमा तत्कालका लागि एकै ठाउँमा उभिने सम्भावना लगभग अन्त्य भइसकेको छ ।”
महाधिवेशन प्रतिनिधि छनौटमा देशैभरबाट बढारिँदा आफ्नो पहिचान स्थापित गराउन पनि नसक्ने हालतमा पुगेको यो समूहसँग अब विकल्पहरु साँघुरिएर दुई वटामा सीमित भएको छ । अध्यक्ष ओलीलाई रिझाएर कम्तिमा अहिले पाइरहेको पद जोगाउने या ओलीलाई चुनौती दिने गरी प्रतिस्पर्धामा होमिने ? तर, जुनसुकै विकल्प रोजे पनि ‘१० भाइ’ समूह कम्तिमा तत्कालका लागि एकै ठाउँमा उभिने सम्भावना लगभग अन्त्य भइसकेको छ ।
महाधिवेशनपछिको पद सुरक्षित बनाउन उक्त समूहका अधिकांश नेता अध्यक्ष ओलीलाई रिझाउने लाइनमा पुगेको उनीहरुकै अभिव्यक्ति र बडी ल्याङ्वेजले प्रष्ट पारेको छ । सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य,गोकर्ण बिष्ट, युवराज ज्ञवाली,योगेश भट्टराईलगायतका नेताहरु ओलीलाई खुशी बनाएर कम्तिमा अहिले खाइपाइ आएको पद जोगाउने कसरतमा रहेको बालकोट निकटस्थहरुको बुझाइ छ ।
“विरोधीविहीन पार्टी बनाउने घोषणा गर्नुभएका ओलीका लागि ‘१० भाइ’ समूह टुक्र्याउने यो गज्जबको अवसर पनि हो ।”
भीम रावल र घनश्याम भुसाल भने ओलीको सम्भावित कदम कुरेर बसेको भन्न थालिएको छ । बुझिएअनुसार महाधिवेशनमा ओलीले आफूहरुमाथि गर्ने व्यवहार हेरेर रणनीति बनाउने उनीहरुको तयारी छ । तर, कमजोर सांगठनिक धरातलमा उभिएर ओलीसँग संघर्ष चर्काउनुभन्दा अहिले पाएको पद लिने र त्यहीँबाट शक्ति आर्जन गर्ने विकल्पलाई उनीहरुले पनि सहज ठान्न थालेको जानकारहरु बताउँछन् ।
यता,अध्यक्ष ओलीको पनि नेतैपिच्छे फरक–फरक व्यवहार गर्ने रणनीति देखिन्छ । विरोधीविहीन पार्टी बनाउने घोषणा गर्नुभएका ओलीका लागि ‘१० भाइ’ समूह टुक्र्याउने यो गज्जबको अवसर पनि हो । सोहीअनुसार ओलीका कदम अघि बढेको ‘१० भाइ’ समूहले समेत बुझेको छ ।
‘केपी ओलीको बिरोध गरे दुई सय भोट कटाउन सक्दैनन् । शर्मनाक हार व्यहोर्नुभन्दा बरु ओली ठीक भनेर पदमा पुग्ने र त्यसभित्र बिस्तारै संघर्ष गरेर आगामी चुनावमा टिकेट सुरक्षित गर्ने उनीहरुको रणनीति देखिन्छ’,
भीम र घनश्यामबाहेक सो समूहका सबै ओलीको बिरोध गरेर अहिलेको एमालेमा स्थापित हुन नसकिने निश्कर्षमा पुगेको उनीहरुकै अभिव्यक्तिबाट बुझ्न सकिन्छ । योगेश,गोकर्णहरुले महेश बस्नेत,गोकुल बाँस्कोटाभन्दा एक कदम अगाडि सरेर ओलीको गुणगान गाउन थालेको सुनिएको छ ।
‘केपी ओलीको बिरोध गरे दुई सय भोट कटाउन सक्दैनन् । शर्मनाक हार व्यहोर्नुभन्दा बरु ओली ठीक भनेर पदमा पुग्ने र त्यसभित्र बिस्तारै संघर्ष गरेर आगामी चुनावमा टिकेट सुरक्षित गर्ने उनीहरुको रणनीति देखिन्छ’,बालकोट निकट एक नेताको ठम्म्याइ छ ।
“रोक्ने हैसियत र विद्रोहको आँट दुबै नभएपछि कोमल वलीलाई केन्द्रीय पदाधिकारी बनाए पनि मान्नै पर्ने उनीहरुको बाध्यता छ ।”
प्रतिनिधि छनौटको यस्तो चित्र आयो कि,ओलीले अखिलका सुनिता बराल र विष्णु प्रसाईंलाई केन्द्रीय सदस्य बनाए पनि १० भाइहरुका लागि स्वीकार गर्नुको विकल्प छैन । रोक्ने हैसियत र विद्रोहको आँट दुबै नभएपछि कोमल वलीलाई केन्द्रीय पदाधिकारी बनाए पनि मान्नै पर्ने उनीहरुको बाध्यता छ ।
बालकोटको निश्कर्ष सुनाउँदै उनै नेता भन्छन्– १० भाइले आफ्नो हैसियत नापेरै होला,ओलीसँग जुधेर सिङ फुकाल्नुभन्दा बरु दिएको लिन र चुपचाप बस्नमै हितकर ठानेका छन् ।
टिप्पणीहरू