दुःखी बाका सकिएनन् दुःख
सशस्त्र द्वन्द्वकालमा तत्कालीन राज्य पक्षद्वारा ०५८ साल कात्तिक १३ गते पक्राउ परेका थिए, पूर्ण पौडेल । १८ महिनासम्म बर्दिया बाँके राष्ट्रिय निकुञ्ज हात्तीसारमा राखियो । औषधोपचारका क्रममा सुर्खेतबाट नेपालगञ्ज गएका बेला ०५८ साल मंसिर १३ गते उनी पक्राउ परे । हात्तीसार निकुञ्जमा लगियो ।
त्यसदिनदेखि ०६० साल जेठ ५ गतेसम्म शाही सेनाको हिरासतमा परे । आँखामा पट्टी बाँधेर राखियो । पछाडि पारेर हात बाँधियो । करेन्ट लगाइयो । हात खुट्टाका औंलामा पिन ठोकियो । बोरामा हालेर जथाभावी चुटियो । टाउको फुटाइयो । खुट्टामा बेलन लगाएर हड्डी फुटाइयो । हातखुट्टाका नशामा करेन्ट लगाएर नशा खराब पारियो । बायाँ पैताला चिरेर दुई औंला एकातिर र तीन औंला अर्कोतिर पारी यातना दिइयो ।
रित्तो थाल दिएर अघाइस् भन्दै गिल्ली गर्दै कैयन् दिन भोकभोकै पारियो । जनै चुँडाएर फ्याँकियो । दुई वर्षसम्म एकै ठाउँमा दिसापिसाब गर्नुपर्ने बेहाल अवस्था भयो । आङको कपडासमेत फेर्न दिइएन । त्यति बेला उनलाई प्रयोग गरेका अश्लील र शब्द लेख्न र व्यक्त गर्न पनि सकिँदैन । पत्नीलाई पनि नियन्त्रणमा लिएर बलात्कार गरिएको दर्दनाक घटना सुनाउँछन् उनी । निर्दोष महिलालाई हिंस्रक शैलीमा यौनजन्य हिंसाको सिकार बनाइयो ।
दुई छोरी बालकुमारी र कमलालाई पनि कुटपिट गर्दै यातना दिइयो । उनलाई दिएको यातनाको चक्र हिन्दी फिल्मको रिलजस्तै छ । सेनाको चरम यातनाका कारण मानसिक रूपमा विक्षिप्त बनेका कान्छो छोरा नारदले विष सेवन गरेर ०६२ फागुन ८ गते आत्महत्या गरे । जेठो छोरा राजेन्द्रले पनि बाह्र वर्षपछि ०७४ असार २८ गते भेरी नदीको भेलमा हेलिएर प्राण त्यागे । जतिबेला सेनाको यातनाबाट गहिरो घाउ बोकेका पौडेल उपचारका लागि काठमाडौं आएका थिए ।
त्यसपछि अशक्त शरीर र बुढ्यौलीको सहारा पनि हरायो । सेनाको चरम यातनाबाट थलिएर मृत्युको मुखमा पुगेका उनै पौडेल अहिले न्यायका लागि यत्रतत्र भौंतारिरहेका छन् । असक्त भई उपचारका क्रममा भएको खर्च र लुटिएको सम्पत्ति नदिएका कारण आर्थिक अवस्था जर्जर बन्यो । साँझ बिहानको छाक टार्नसमेत हम्मेहम्मे छ यतिबेला । उनीसँग परिवारले गाडी बिक्री गरेको र पसल व्यवसायबाट आर्जित केही रकम घरमा थियो । मुलुकमा द्वन्द्व उत्कर्षमा पुगेको थियो ।
पौडेल सैनिक कब्जामा रहेकै बेला राज्य पक्षबाट ७० जना हातहतियारसहितका सेना घरमा पुगेका थिए । चारबाहिनी अड्डाअन्तर्गतको मंगलगढी व्यारेकका जमदार रामबहादुर महतको नेतृत्वमा गएको सेनाले पाँच लाख रूपैयाँ लुटपाट गरी लिएको सुनाउँछन्, पौडेल । पढ्दै गरेका छोराछोरीलाई विद्यालयबाट निकाला गरी पढ्न दिइएन । बाबुको पीडा, घरको जर्जर अवस्था, सेनाको चरम यातना नै दुई छोराको आत्महत्याको कारण थियो ।
सेनाबाट दिइएको चरम यातनाका कारण पौडेलको नशा, टाउको, कान, पेट, हाड र जोर्नी दुखेर असैह्य हुने समस्या अझै छ । उठ्न, बस्न र हिँड्नै सकस भई उनी थला परे । स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले ऋण सापट गरी उपचार गर्दागर्दै ०६३ असारसम्म उनको ११ लाख रूपैयाँ त खर्च नै भएको थियो । उक्त रकम भुक्तानीको व्यवस्था मिलाइदिन भनेर सुर्खेतका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई सबै बिल भर्पाई बुझाए ।
०६३ साउन १५ गते बुझाएका थिए उनले । पछि सिडिओ कार्यालयमा प्रगति बुझ्न जाँदा त्यो बिल भर्पाईसमेत हराएको भनेर उल्टै पत्र थमाइयो । त्यसयता पनि उपचारका क्रममा थप पाँच लाख रूपैयाँ सिद्धिसकेको सुनाउँछन् पौडेल । १६ लाख रूपैयाँ त उनको उपचारमा मात्र सकिएको छ । समान्य हिँडडुल त उनी गर्न सक्छन् तर अहिले पनि मासिक आठ हजार रूपैयाँको औषधि खानुपर्छ । राज्य पक्षबाट पाएको यातनाका कारण जीर्ण र थला परेको शरीरको उपचार गर्दा गर्दै उनी ऋणमा चुर्लुम्म डुबेका छन् ।
अब त उपचार पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् उनी । सैनिक हिरासतबाट मुक्त भएको १८ वर्ष भइसकेको छ । सैनिक हिरासतबाट मुक्त भएदेखि नै लुटिएको सम्पत्ति फिर्ता र उपचार खर्च प्राप्तिका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोग, गृह मन्त्रालयदेखि सरकारका विभिन्न निकायमा चहार्दा चहार्दै यतिका वर्ष बितिसकेको छ ।
सबै प्रमाण पनि नभएको होइन पौडेलसँग । तैपनि, कुनै वास्ता गरिएको छैन । उनको दुःख र पीडा राज्यको कुनै प्राथमिकतामा परेको छैन । वडा, सिडिओ कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाउँदा पनि पीडा सुनिदिने कोही छैन । स्थानीय निकाय, जिल्ला प्रशासन र प्रहरीबाट मुचुल्का भइसकेको छ । स्थानीय शान्ति समितिलगायतको सिफारिससहित तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा पौडेलले राहत र क्षतिपूर्तिका लागि पटक–पटक निवेदन दिए ।
तर, कुनै सुनुवाइ भएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय र गृह मन्त्रालयमा हुलाकमार्फत निवेदन पनि पठाए । तैपनि, कारबाही अगाडि बढेन । सरकारसँग गरेका सहयोगका सबै प्रयास असफल भए । झन् पीडामाथि पीडा थप्ने काम भयो । आसै आसमा वर्षौं बित्यो तर घाउमा मलम नलागेपछि उनी रिट लिएर न्यायका लागि सबै प्रमाण बोकेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे ।
सबै तथ्य प्रमाणका आधारमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासले २०७७ मंसिर २१ गते सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २३ तथा नियमावलीअनुसार स्वास्थ्योपचार खर्च र अन्य आवश्यक सुविधा तथा तथा सहुलियतसहितको सुविधा आदेश प्राप्त भएको मितिले १५ दिनभित्र नेपाल सरकारसमक्ष सिफारिस गर्न सत्यनिरूपण आयोगका नाममा परमादेश जारी भयो ।
यति मात्र नभएर पौडेलको उजुरीमा विस्तृत छानबिन तीन महिनाभित्रै टुंग्याउनसमेत परमादेश भयो । सर्वोच्च अदालतको यो परमादेशपछि पनि पौडेल कैयन पटक राहात र क्षतिपूर्तिका लागि सुर्खेतदेखि आयोगमा धाइरहे । एक वर्षसम्म पनि फेरि सर्वोच्चको फैसला कार्यान्वयनमा आनाकानी भइरहेको छ । फैसला कार्यान्वयन र क्षतिपूर्तिका लागि आयोगमा पुग्दा सदस्य मना दाहालको तिहारअघि उल्टै दुव्र्यवहार खेप्नुपरेको दुःखद अवस्था पौडेलले सुनाए ।
फैसला कार्यान्वयनमा पन्छिएपछि त्यहाँ पौडेल केही आक्रोशित पनि बने । किनकि पौडेलमा पीडाको घाउ संग्रालिएर चहराइरहेको थियो । एकछिन भनाभन भयो । ‘न्याय पाऊँ भनेर कुरा राख्न जाँदा दाहालले दुर्वचन बोलिन् । तल्लोस्तरका शब्द प्रयोग गरिन् । मुखमा आएको भनिन् । प्रहरी लगाएर घोक्र्याएर बाहिर निकाल्छु भनिन्,’ पौडेलले गहभरिका आँसु पुच्छ्दै सुनाए, ‘अब म न्याय माग्न कहाँ जाने ? कसरी बाँच्ने ?’
सदस्य दाहाल मात्र होइन, सर्वोच्चको फैसला अघिल्तिर टक्र्याउँदा र यतिका पीडा बिसाउँदा पनि पीडितलाई न्यायको जिम्मेवारी लिएर बसेका आयोगका अध्यक्ष गणेशदत्त जोशीसमेत टक्टकिए । दुई दिनअघि राहतको सिफारिस गरिदिने भनेर जोशीले वचन दिएका थिए । न्यायको आसमा आयोगको कार्यालयमा फैसला र कागज प्रमाण बोकेर पुगेका पौडेल जतिबेला फेरि घोर निरासामा परे । जब अध्यक्ष जोशीले ‘आज फाँटवाला छैन । भोलि काठमाडौं बाहिर डडेल्धुरा जाने काम छ पछि आउनु,’ भन्दै आयोगबाट बाहिरिए । त्यसपछि पौडेल भारी मनले प्रमाणको मुठो काखीमुनि च्यापेर आयोगबाट ओझेलिए ।
टिप्पणीहरू