स्थानीय तहको चुनाव चैतमा : मन्त्री खतिवडा

स्थानीय तहको चुनाव चैतमा : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी चैत महिनामा स्थानीय तहको चुनाव हुने बताउनुभएको छ ।

हेटौंडामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले निर्वाचनको तयारी भएको बताउनुभयो । उहाँले संवैधानिक रुपमै चैतमा चुनाव गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभएको छ । निर्वाचन आयोग र सरकार त्यसका लागि तयार रहेको बताउँदै उहाँले भन्नुभयो, ‘कानुनी व्यवस्थासँगै आयोग र सरकार चुनाव गराउन तयार छ ।’

राष्ट्रिय सभाको चुनाव मिति घोषणा गरिएको सन्दर्भमा उहाँले मन्त्रीपरिषद्को आगामी बैठकले प्रतिनिधिसभा उपनिर्वाचन मिति तोक्ने सम्भावना रहेको समेत जानकारी गराउनु भयो । एक अर्को प्रसङ्मा मन्त्री खतिवडाले कुनै स्थानमा कुनै राजनीतिक दलले महाधिवेशन गर्दैमा कोही नसकिने दाबी गर्नुभएको छ । उहाँले एमालेले आगामी महाधिवेशन चितवनमा राखेर प्रचण्डलाई सिध्याउन खोजेको भन्नु गँजडीको गफ मात्रै रहेको टिप्पणी समेत गर्नुभयो ।

कोभिड १९ नियन्त्रणका लागि सम्पूर्ण नेपालीले अब निर्धक्क रुपमा खोप पाउने गरी व्यवस्था गरिएको स्वास्थ्यमन्त्रीको भनाइ छ ।

संगठनका संस्थापक केन्द्रीय सदस्य शिवकुमार काशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू