भूमिगत चौथो अंग : किन भताभुंग ?

सरकारले अदालतको आदेश छल्दै विप्लव माओवादी प्रवक्ता प्रकाण्डसहित दर्जन नेतालाई मुद्दाको सिलसिलामा देशभर डुलाउँदै गर्दा बाँकी रहेका अधिकांश केन्द्रीय पदाधिकारी लगभग भूमिगतप्रायः छन् । 

मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले पार्टीसम्बद्ध क्रान्तिकारी पत्रकार संगठनका ५ जना प्रभात चलाउने, जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुसाल, सुदीप बर्देवालाई विभिन्न आरोप लगाई निकालेको भोलिपल्ट अर्थात् भदौ ३० गते कारबाहीमा परेकाहरूले पनि एक हुल पत्रकार जम्मा गरेर प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरूले क्रान्ति गर्छु भन्ने पार्टीमाथि नै औँला ठड्याउँदै ती आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

यता, सरकार विप्लवको पार्टीलाई जहाँ भेट्यो उहीँ समात्न लागिरहेको छ । उता चौथो अंग मानिने पत्रकार आफैं अंगभंग हुने गरी कुटाकुट गरेको उजुरी हेडक्वार्टरमा परेपछि कारबाही भएको बताइन्छ तर प्रभात समूहले भने आफूले नकुटेको उल्लेख गदै विज्ञप्तिमा भनेको छ– कुन ठाउँमा, कसले, कसमाथि हातपात गरेको हो ? सार्वजनिक ठाउँमा भनेपछि देख्नेहरू पनि होलान् । त्यो कुन ‘जिम्मेवार साथी’ हो, जसमाथि हातपात भयो, त्यस्तो कोही छ भने ममाथि हातपात भएको हो भनेर उभ्याइयोस् ।

विप्लव समूहमा यस्तो कारबाही र समानान्तर समिति बनेर जुहारी सुरु भएको यो पहिलो घटना होइन । मोहन बैद्यबाट अलग भएलगत्तै सम्पन्न मजदुर संगठनको सम्मेलनबाट पनि समानान्तर समिति गठन भएको थियो, पछि सो संगठन विघटन गरी पार्टी केन्द्रीय सदस्य अमर झाँक्रीलाई पठाउनुपरेको थियो । 

लगत्तै विद्यार्थीको चितवन राष्ट्रिय सम्मेलनमा पनि त्यस्तै भयो । समस्या हल गर्न ३० वर्षे उमेर हदको अवधारणा ल्याइए पनि विद्यार्थी नेताले उमेर ढाँटी नक्कली नागरिकताको फोटोकपी बुझाएपछि दाङ सम्मेलनमा बबण्डर मच्चिएको र नेता सन्तोष बुढाको घण्टौंको भाषण र भोक खप्न नसकेर सहभागी बेहोस भएपछि सम्मेलन बीचमै सक्नुपरेको थियो ।

महाभारत नै मच्चिएपछि नेता छानिन पाएन । नगरकोट सम्मेलनमा विवादले उग्ररूप लिएसँगै आदेश नमान्दा प्रभात चलाउनेमा विचारकै समस्या भएको ठहर प्रकाण्डले गरेका थिए । प्रभातले पनि देखाइदिन भन्दै धम्कीको भाषा बोलेका थिए । त्यही पृष्ठभूमितिर संकेत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘विगतमा कतिपय जनवर्गीय संगठनको सम्मेलन स्थलबाटै उठेर पत्रकार सम्मेलनमार्फत समानान्तर कमिटी गठन गरिएका उदाहरण नेताले नभुलेको हुनुपर्छ ।’ प्रकाण्डको गिरफ्तारीसँगै यो आरोप प्रभातमाथि लगाइएको आशंका छ । तर, यतिबेला करोडौं बोकेर प्रेम दर्नाल फरार भएको सन्सनी विप्लव पार्टीमा छाएको छ । 

प्रभात र प्रकाण्डबीच द्वन्द्वको फाइदा उठाउने बल्छी दाउमा रहेका क्षेप्यास्त्र साप्ताहिकका राजेन्द्र चिमोरियाको सपनाले त्यतिबेला हावा खायो जब पार्टीले लुम्बिनीका प्रकाश डुम्रेलाई अगाडि ल्यायो । यो खेलाई र पेलाइको शिकारमा द्वन्द्वकालीन पत्रकार (अनलाइन डबलीका सञ्चालक) दीपेन्द्र रावल परे । 

पहिले विप्लव समूहमा गुटबन्दी गरेको धेरै आरोप खेप्ने बूढा नेता असारे काका रोल्पा महाधिवेशनदेखि नै सल्लाहकारमा थन्क्याइए जबकि उनीभन्दा जेठा ७२ वर्षीय मकर गुरुङचाहिँ युवा भन्दै केन्द्रीय समितिमा थपिएका थिए । विज्ञप्तिमा उल्लेख छ, स्थायी समिति सदस्यकै साथमा पार्टी बनेदेखि आजसम्मका सबै दस्ताबेज, हिसाबकिताब, सर्कुलर र बैठकका टिपोट र ल्यापटपसमेत गएको कुरा छ्याप्छ्याप्ती भइसकेकै छ । अरू नेताका साथमा पनि धेरै कुरा गएको नेतालाई थाहै छ । अहिले ३८ भाइको नाममा विज्ञप्ति निकालेर त्यसका कमाण्डर प्रभात चलाउने विदेशतिर हान्निएका छन् ।

टिप्पणीहरू