फौजमा समेत छि¥यो फसाद

सात फिटे, अजंगको मान्छे सोमबार राति कड्किन थालेपछि एकछिन सन्नाटा छायो तर कुरा अझै मिलिसकेको छैन । 

सशस्त्र प्रहरीबाट अवकाश पाएका झण्डै दश हजार कर्मचारीको संगठनमा नेतृत्वको विषयलाई लिएर रिटायर्ड दुई वरिष्ठबीच तानातान चलिरहँदा यस्तो दृश्य देखिएको हो । पूर्वआइजिपी दुर्जकुमार राई सम्झाउँदै थिए, दुई हप्ते आइजिपी किशोर लामादेखि ‘आन्दोलन स्टार’ भनिने भूपू डिआइजी माधव थापासम्म ‘लु, भयो–भयो’ भन्दै बाहिर निस्किन थाले । अकुत सम्पत्तिसम्बन्धी मुद्दा खेपिरहेका भूपू आइजिपी बासुदेव वलीलाई दुई वर्षअगाडि अख्तियारले डाम्नासाथ १४ दिन फौज चलाएर बिदा भएका उपाध्यक्ष किशोर लामा निमित्त अध्यक्ष भएका थिए । २६ गते साधारणसभाबाट नयाँ नेतृत्व छान्नुपर्ने । त्यसका लागि सर्वसम्मत गरेर जाऔँ भन्दै हल्चोकस्थित संघको कार्यालयमा भूपूहरु भेला भए ।तर, किशोर लामा ‘म छाड्दै छाड्दिनँ’ भन्ने, भूपू एआइजी ठाकुरमोहन श्रेष्ठ ‘सधैं तपाईंहरुलाई मात्रै, हामीलेचाहिँ योगदान दिन नपाउने ?’ भनेर टसमस नहुने † शुरु–शुरुमा त दुर्जकुमार राई किशोरलाई पनि सम्झाउँदै थिए, ‘निमित्त नै भए पनि अध्यक्ष भइसक्नुभयो । यसपालि ठाकुरमोहनलाई बनाइदिऊँ । दिएर सानो हुँइदैन । छाड्दिनुस् †’ दुर्जले भनेको किशोरले नमानेपछि ठाकुरमोहनलाई सम्झाए, ‘भैगो नि त, अहिले किशोरलाई गरौं, त्यसपछि तपाईं चलाउनु होला । म नेतृत्वमा आउने हैन क्यारे ! चुनाव गरे नेपाल प्रहरीमा जस्तो भाँडभैलो हुन्छ । त्यतातिर कोही आईजी नढिम्किएको देख्नुभा’कै छ ।’ 

नम्र भएर यति भन्दा पनि किशोर कराउन थाले, ‘तिमीले भन्दैमा छाड्छु म !’ सम्झाएर नहुने भएपछि ‘भलिबल हानेजस्तो बजाएरै छाड्छु’ भन्दै दुर्ज ताते । तर, माधव थापाहरुले ‘यसो नगरौँ, भयो–भयो’ भन्दै थम्थम्याएर त्यहाँबाट निस्किए । दुर्जकुमार, सिंहबहादुर श्रेष्ठहरुको भनाइ थियो, ‘एउटा संस्था, वर्षौं सँगै जागिर खाएर रिटायर्ड भएका साथीहरु छौँ । यस्तोमा प्रतिस्पर्धा होइन, सहमति गरेर अगाडि बढौँ । हिजो जागिर खाँदा पनि साथीले टप्ला भनेर रातदिन हिँड्यो । आज रिटायर्डमा त अलिक सुखले, हाँसिखुशी मिलेर जाऔँ न यार !’ यसो भन्दा पनि किशोर लामा नमान्ने । ‘म एकचोटि अध्यक्ष हुन्छु, त्यसपछि ठाकुर हुन्छ !’ भन्ने उनको जिकिर । अहिलेसम्म सशस्त्र प्रहरीमा अवकासप्राप्त कर्मचारीको संख्या १० हजार पुगिसकेको छ । तर, त्यति संख्यामा सदस्य छैनन् ।

सबै भूपू सशस्त्र प्रहरीलाई समेट्नका लागि प्रभावकारी नेतृत्व चाहिने कारण नयाँलाई अवसर दिऊँ भन्ने कृष्णकुमार तामाङ ठाकुरमोहनतिर, अरु किशोर लामातिर ।  ठाकुरमोहनको भनाइ थियो, ‘के मेरो काम सधैँ पर्खिनेमात्र हो । आइजी बन्नलाई त्यसै गरे । अन्यायमा पारे । अब संघको अध्यक्ष बनाउने भनेर धेरैजसो साथीहरु मेरै पक्षमा हुनुहुन्छ । किशोरलाई मात्र सधैं अवसर किन ?’

उता, नेपाल प्रहरीबाट रिटायर्ड भएका भूपूहरुको अर्को गञ्जागोल छ । पूर्वप्रहरी संगठनमा बाँचुञ्जेल अध्यक्ष भएका डिबी लामाको निधनलगत्तै भूपूएसएसपी बसन्त कुँवर अध्यक्ष भए । तर, उनको नेतृत्व स्वीकार नगर्नेहरुले भूपूएआइजी रमेश श्रेष्ठलाई अध्यक्ष बनाएर अर्कै संगठन सञ्चालन गरेका छन् । कुँवर अध्यक्ष रहेको संगठनले नेपाल प्रहरीकै सहयोगमा धापासीमा आफ्नै भवन बनाएर वर्षौंदेखि कार्यालयसहित पार्टी प्यालेस सञ्चालन गर्दै आएको छ । प्रहरीले अहिलेसम्म धापासी कार्यालयलाई नै बैधानिकता दिँदै आएकोमा अब दुई पक्षबीच छलफल गरेर एकै संगठन बनाउने अभ्यास थालिएको प्रहरीस्रोतले जनाएको छ ।

टिप्पणीहरू