प्रधानाध्यापक नै पार्टी सभापति
पाँचथरको हिलिहाङ गाउँपालिका— ४ को सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ नेपाली कांग्रेस पाँचथर प्रदेश क्षेत्र नम्बर ‘क’ को सभापतिमा निर्वाचित भए । शनिवार सम्पन्न मतगणनामा उनले प्रतिस्पर्धी कुमार राईलाई ३२ मत अन्तरले हराएका हुन् । उनी यसअघि पनि कांग्रेसको क्षेत्रीय सचिव थिए ।
प्रमुख राजनीतिक दलको महाधिवेशन र सम्मेलन हुँदा स्थानीय स्तरमा धेरै शिक्षक पनि राजनीतिक दलको कार्यकारी भूमिकामा चयन भएका छन् । शिक्षक र कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्न प्रतिबन्ध लगाइए पनि यो व्यवस्थाको बेवास्ता गर्दै शिक्षकहरू पार्टीको समितिमा निर्वाचित र मनोनीत भइरहेका छन् ।
विरोध भएपछि उनले सामाजिक सञ्जालमा ‘विभिन्न टिप्पणी भएको कारण म अब विद्यालयसँग सम्बन्धित छैन’ भनेर सामाजिक सञ्जालमा लेखेको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख विश्वनाथ भण्डारीले बताए । ऐनविपरीत शिक्षकहरू राजनीतिक दलको राजनीतिमा सक्रिय हुन नहुने उनी बताउँछन् ।
शिक्षा ऐन २०२८ को दफा १६ (ङ), उपदफा (६) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समिति (राजनीतिक दलको विधानबमोजिम गठित केन्द्रीय स्तर, प्रदेशस्तर वा स्थानीय तह स्तर) को सदस्य रहेको पाइएमा पदबाट हटाइने उल्लेख छ ।
शिक्षक सचेत वर्ग भएकाले राजनीतिमा चासो राख्नु साथै पेशागत संघ संगठनमा रहनु स्वाभाविक भए पनि ऐनविपरीत गएर दलकै कार्यकारिणी पदमा निर्वाचित हुनु र विद्यालयको पठनपाठन बिग्रिने गरी राजनीतिमा सक्रिय हुनु बेठीक भएको सरोकारवालाहरू बताउँछन् ।
टिप्पणीहरू