प्रतिबन्ध लगाए पनि प्रधानमन्त्रीलाई….
जाँगरिला र केही गरौँ भनेर सोचिरहने मान्छेलाई केही नगरी खाली बस्नुपर्दा कति पीडा हुन्छ ?
त्यसैले समय कटाउन आफ्नो मन र मस्तिष्कलाई ऊ सक्रिय बनाइरहन चाहन्छ । केही दिन उपचारका क्रममा शिक्षण अस्पताल बसेर बालुवाटार फर्किएपछि प्रधानमन्त्री केपी ओलीले केही स्वतन्त्रताको खोजी गर्नुभयो ! चिकित्सकको सल्लाहअनुसार मोबाइल र ग्याजेटहरूबाट टाढा राखिएको थियो । बालुवाटार फर्केको भोलिपल्ट बिहान उहाँले ‘समय हेर्न परेन ?’ भन्दै घडी माग्नुभयो । भोलिपल्ट हेर्दा त प्रम त्यही घडीमा बोलिरहेको भेटियो । अर्थात्, मोबाइललाई ब्लुटुथमार्फत घडीसँग कनेक्टेड गरिएको रहेछ र त्यहीँबाट बोल्न, सुन्न सकिने रहेछ । यसपछि त्यो घडी पनि खोसियो ।
अबचाहिँ प्रम पूरै बाहिरी दुनियाँसँग सम्पर्क बिच्छेद हुनुभयो भन्ने अनुमान थियो । तर, अर्को दिन प्रमुख सल्लाहकार विष्णु रिमाल बिहान आफ्ना कुरा ब्रिफिङ गर्न जाँदा अचम्मको दृश्य देखियो । कोही, कसैसँग भेट्न–बोल्न नदिनु भन्ने चिकित्सकको सुझावअनुसार उहाँलाई तनाव र सम्पर्कमुक्त बनाइएको हो । किनभने, कुनै सानो कारणले इन्फेक्सन भइहाल्यो भने स्वास्थ्यमा थप जटिलता आउने खतरा रहन्छ भनी डाक्टरहरूले भनेका थिए । तर, विष्णु रिमालले परैबाट केही कुरा भनेर फर्किन्छु भनी भित्र पुग्दा त प्रमचाहिँ सेना, प्रहरीका सिनियर अंगरक्षक भेला पारेर कविता र चुट्किला भन्न प्रोत्साहित गर्दै हुनुहुन्थ्यो । उनीहरूलाई आफूले नम्बर दिने र उत्कृष्टताका आधारमा तुरुन्तै पुरस्कृत पनि गर्ने भनेका कारण फौजीहरू पालैपालै कविता सुनाइरहेका थिए । यस्तो दृश्य देखेर विष्णु रिमाल तीनछक खाए । राजेशलाई बोलाएर भने, ‘तपाईंले देख्नुभएको थियो कि थिएन ? यो के हो ?’
अस्पतालमा तानातान
शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भाष्कुलर सेन्टरको सिसियु कक्षमा पनि चिकित्सकले उहाँलाई अत्यन्तै कडाइसाथ राखेका थिए । भेट्न जम्मा पाँच किसिमका मानिसको सूची तयार थियो । राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरूको एउटा, परिवारका सदस्य, सचिवालयका मुख्य–मुख्य मान्छे, कर्मचारीतर्फ मुख्यसचिव मात्रै, मन्त्रीमध्ये पनि चार–पाँच जना मात्र, पार्टीका सचिवालय नेता र सभामुख आएमा उनीहरूलाई छिराउने भन्ने सूची हेर्दै अस्पतालका कर्मचारीले मान्छे फिल्टरिङ गर्दै थिए । यो काम पहिला पिए राजेशले गरेका थिए । तर, विचरा राजेशले कतिजनालाई रोकेर सकून् ? त्यसपछि अस्पतालले त्यहीँका कर्मचारी खटायो । कानुन मन्त्री भानुभक्त ढकाल ‘पठाउनु’ भनिएकाभित्र थिए । प्रचार विभाग प्रमुख योगेश भट्टराई एकतापछि सचिवालयमा छैनन् । त्यसैले भेट्न पाउनेमा परेनन् । भानुको साथ लागेर योगेश पनि छिरे । भानुले ‘उहाँ मन्त्रीजत्तिकै हो’ भनेपछि कर्मचारीले ‘हामी चिन्छौँ नि’ भन्दै जान दिए । तर, उनीहरू जति–जति भित्र जान्छन्, कर्मचारी ‘अब यत्ति, अब यत्ति’ भन्दै फर्काउन हतारिन्थे । ढोकाबाट प्रम बेडमा बसिरहेको देखेपछि ‘यहीँबाट हेरेर फर्किनुपर्ला हजुर, भित्र त जान पाइन्नँ’ भनेर कर्मचारीहरूले तानौँलाझैँ गर्न थाले । उता, भित्रबाट प्रधानमन्त्रीचाहिँ हाँस्दै योगेशलाई ईशारा गर्दै हुनुहुन्थ्यो, ‘आउनुस्, आउनुस्’ भन्दै । भानुले भने, ‘यहाँसम्म आउन त कति मुस्किल भयो !’ ‘भित्रै गइहाल्छन् कि’ भन्ने पिरले होला, भानु र योगेशलाई तानेरै निकाल्ने पोजिसनमा कर्मचारी पुगिसकेका थिए । अनि, योगेशले भने, ‘अध्यक्षलाई हेरियो, खुशी लाग्यो, अझ तन्दुरुस्त हुँदै जानुहोला, अब यतैबाट गइयो पनि !’
डाक्टरको कुरा
उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले यमपञ्चकको पहिलो दिन आयोजना गर्नुभएको चियापानमा उपस्थित र प्रधानमन्त्री केपी ओलीको उपचारमा संलग्न चिकित्सक अरुण सायमीले भने, ‘उहाँलाई एकदिन मात्र ढिलो गरेर अस्पताल पु¥याएको भए के हुन्छ भन्न सकिँदैनथ्यो ।’ उनले प्रधानमन्त्रीलाई भनेका छन्, ‘सिंहदरबार जाँदै नजानुस्, काठमाडौं बाहिर टेक्दै नटेक्नुस्, स्वदेश, विदेश भ्रमण सबै बन्द गर्नुस् ! समयमै सुत्नुस्, संक्रमणको खतरा छ ।’ सायमीले सुनाए, ‘यसपालि मैले उहाँलाई बढी नै गाली गरेको छु । किड्नीको बिरामीले चिसोमा निस्कनै हुँदैन भनेँ । निमोनियाको संकेत आइसकेको थियो । धन्न त्यो खतरा टरेको छ । निमोनिया भनेको फोक्सोमा पानी जम्नु हो ।’
यसबीच, ६६ महिनामा विदेशमा स्वास्थ्य परीक्षण गर्नुपर्ने तालिका गुज्रिएको छ र डाक्टरहरूलाई सोधेर सकेसम्म आजभोलिमै प्रधानमन्त्रीलाई बैंकक लैजानेबारे छलफल चलिरहेको छ ।
टिप्पणीहरू